३० वर्षे यातायात सञ्चालन योजना सार्वजनिक, विद्युतीय बस सेवा शुरू



ईश्वरराज ढकाल, काठमाडौं
सरकारले सन् २०५० सम्ममा ५० प्रतिशत विद्युतीय बस सञ्चालन गर्ने कार्ययोजना सार्वजनिक गरेको छ।

विद्युतीय सवारी साधनले वातावरण संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले सन् २०५० भित्र ५० प्रतिशत विद्युतीय बस सञ्चालन गर्न लागेको हो। सरकारले मंगलबार सार्वजनिक गरेको विद्युतीय यातायात राष्ट्रिय कार्ययोजनामा सो विषय समेटिएको हो।

मुलुकमा वातावरण प्रदूषण बढ्दै गएको र इन्धनबाट सवारी साधन सञ्चालन गर्न बढी खर्चिलो हुने भएकाले सरकारले विद्युतीय सवारी साधनलाई भित्याएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भित्रिएको बिजुली बसको शुभारम्भ गर्दै अब नेपालमा विद्युतीय बसको संख्या बढाउँदै लैजाने बताउनुभयो। उहाँले भन्नुभयो– ‘यस्ता बसलाई बढाउँदै लग्ने र पेट्रोलियम पदार्थको खपत कम गर्ने योजना कार्यान्वयन गर्ने तयारीमा रहेको छ।’

उहाँले बिजुली बसले वातावरणसँगै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले यससम्बन्धी कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। प्रम ओलीले नेपालमा बिजुली उत्पादनलाई बढाउँदै लैजाने उल्लेख गर्दै बिजुली उत्पादनसँगै देशैभर बिजुली बस सञ्चालन गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो।

कार्ययोजनामा सन् २०४० सम्ममा पब्लिक कम्युनिटीको सहयोगमा हाइड्रो पावर रेल सञ्चालन गर्ने उल्लेख गरिएको छ। साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकामा करिब सयवटा बिजुली बस आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तह र विभिन्न सरोकारवाला निकायको सहयोगमा उपत्यकाका सडकमा विद्युतीय बस सञ्चालन गर्न सकिने दाबी गर्नुभयो।

उहाँले बस खरिद गर्न महँगो भए पनि सञ्चालन गर्न सस्तो पर्ने बताउनुभयो। साझा यातायातको अनुसन्धानपछि चिनियाँ बस कम्पनी बीवाईडी कम्पनीले बस निर्माण गरेको उहाँको भनाइ थियो।

साझा यातायात एक्लैले बिजुली बस सञ्चालन गर्न नसक्ने दाबी गर्दै साझा यातायातको संयोजनमा सबै सरोकारवालाको सहयोगमा उपत्यकामा बिजुली बस सञ्चालन गर्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘करिब २ करोड रुपियाँ पर्ने ती बस एक्लैले सञ्चालन गर्न सकिँदैन, सरकार र अन्य निकायको सहयोग आवश्यक छ। साझाले बिजुली बस सञ्चालन गरेलगत्तै सुन्दर यातायातले पनि राजधानीमा १३ वटा बिजुली बस सञ्चालन गर्ने भएको छ।’

मयूर यातायातले पनि बिजुली बस भित्याउने तयारी गरेको छ। पर्यटन मन्त्री रवीन्द्र अधिकारीले स्वच्छ ऊर्जा तान्न सरकारले बिजुली बस सञ्चालन गरेको बताउनुभयो। सरकारको नयाँ योजनाअनुसार नै पहिलो चरणमा राजधानीमा बिजुली बस सञ्चालन गरेको उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो– ‘अब पशुपति, लुम्बिनी, स्वयम्भूलगायतका पर्यटकीय स्थलमा विद्युतीय सवारी साधन सञ्चालन गर्नेछौं। वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले शहरीकरणका कारण सवारी प्रदूषण बढ्दै गएको बताउँदै त्यसको उत्तम विकल्पका रूपमा उपत्यकालगायत देशभर विद्युतीय सवारी साधन सञ्चालन गर्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो।

एडीबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनका लागि खरिद गरेका पाँचवटा अत्याधुनिक एवं सुविधा सम्पन्न बसहरू तत्कालका लागि कोषसँगको सहकार्यमा साझा यातायातले राजधानीमा सञ्चालन गरेको हो।

हाल ती बसहरू राजधानीका विभिन्न रुटमा सञ्चालन हुनेछन्। चिनियाँ बीवाईडीले निर्माण गरेका पाँचवटा मध्ये दुईवटा बस काठमाडौं आइपुगेको र अरू तीनवटा बस ल्याउने प्रक्रियामा रहेको पनि साझा यातायातले जनाएको छ।

तीन वटा बस नेपाल भित्रिसकेका र केही दिनभित्र काठमाडौं आइपुग्ने साझा यातायातले जनाएको छ।

परीक्षण सफल भएलगत्तै बिजुली बस थप गरी उपत्यकालगायत मुलुकभर सञ्चालन गरिने सरकारको योजना छ। प्रम ओलीले पुल्चोकस्थित साझा यातायातको मुख्यालयमा बसको शुभारम्भ गरेलगत्तै गर्दै सोही बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुग्नुभएको थियो।

उहासँगै संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, पूर्वसभामुख एवं सांसद सुभाष नेम्वाङ काठमाडौं र ललितपुर महानगरपालिकाका मेयरद्वय विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनलगायतका विशिष्ट व्यक्तिी सिंहदरबार पुगेका थिए। साझा यातायात प्रालिका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले सीसी क्यामेरा, मोबाइल चार्ज र एयर कन्डिसन(एसी)को सुविधा रहेको सो बस एक पटक चार्ज गरेपछि २ सय ५० किलोमिटर कुद्न सक्ने क्षमता रहेको बताउनुभयो।

बस अपांगमैत्री सो बसमा दुई वटा चियर राख्न सक्ने स्थान र त्यसका लागि लिफ्टको व्यवस्था गरिएको छ। बसमा चालकसहित २० सिटको क्षमता रहेको छ।

प्रतिक्रिया दिनुहोस्