शताब्दीपुरुष जोशीलाई नागरिक अभिनन्दन सहित सम्मान



पुष्कर बुढाथोकी, भक्तपुर ।
बाङ्मय शताब्दीपुरुष एवं संस्कृतविद डा.सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ ।
सूर्यविनायक नगरपालिका १ सिरुटारस्थित जय गणपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो आठौ वार्षिक साधारणसभाको अवसरमा भव्य रुपमा नागरिक अभिनन्दन गरि सम्मान गरेको हो ।

शताब्दी पुरुष जोशीलाई धिमे बाजा सहित स्वागत गर्दै पैदल यात्रा सहित नागरिक अभिनन्दन गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रमण कायस्थले उहाँले भादगाउँले टोपी, खादा ओढाउँदै सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभयो ।

कार्यक्रममा जोशीले गाउँघर, वनजंगलमा घाँस दाउँरा लिन जादा, मेलापात, गोठालोमा ठेट नेपाली भाषाका अत्यन्तै कलात्मक र नेपाली संस्कृति बोकेको गीतहरु जीवित रहेको बताउनुभयो ।

शिक्षाको उज्योलो प्रकाश राम्रोसंग नपुगेका, ज्ञानगुन र संगीतका प्रशिक्षण नदिएका, गीत लेख्न पनि नजानेका गाउँका पाखा पखेरामा गाईने गीतहरुले मानिसको सिंगो जीवन बोकेको बताउँदै उहाँले त्यस्ता लोक गीत संगीतलाई जोगाउँन सरकार लाग्नु पर्ने बताउनुभयो ।

गीत संगीतको कुनै प्रशिक्षण नलिए पनि गाउँमा गाईने सुरिलो भाकाका गीतहरु जसले सुखको खुसी र दुखको वेदना बोकेको हुन्छ, त्यही नै नेपाली लोक भाका भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“जागिरे जीवनमा बिभिन्न जिल्लामा जादा त्यहाँ गाउने गीत र त्यसको भाका बुझेर मैले त्यसको अध्ययन, अनुसन्धान गर्ने, संकलन गर्ने नगरेको भए म आज एउटा सामान्य कर्मचारी सत्यमोहन मात्रै हुने थिए, सरकारले गाउँघर, पाखापखेरामा छरिएका रहेका यस्ता लोक गीत, भाकाको संरक्षण गर्नुपर्छ ।”

उहाँले जीवनमा साहित्य नभए सुख्खा हुन्छ भन्दै उहाँले नेपालको बिभिन्न भाषा, साहित्य, संस्कृतिलाई जगेर्ना गर्दै अहिलेका पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रा. राजेन्द्र सुवेदीले नेपाली साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकारी संस्थाहरु पनि लाग्नु पर्ने औल्याउँनुृभयो ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष सानुकाजी कायस्थ संस्थाका अध्यक्ष रमण कायस्थ, सचिव सस्मिता राउँत, कोषाध्यक्ष सिता श्रेष्ठ, चमेली वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष उद्धवप्रसाद चौलागाई, लगायतले सहकारी संस्था आमनागरिकदेखि राष्ट्रसम्मलाई योगदान पुर्याउँदै आएको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्