मगर विद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्ष थापाको दुर्घटनामा निधन



पाल्पा ।
मगर विद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्ष रुपा थापा मगरको दुर्घटनामा निधन भएको छ ।
स्याङ्जाको मालुङ्गा नजिकै स्कुटी दुर्घटना हुदा उनको निधन भएको हो । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई र विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदा दुर्घटना भएको हो । थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मीको मालिका गाउँपालिका १ नेटा निवासी २१ वर्षीया रूपा थापामगरको ११ दिन अघि विवाह भएको थियो । उनी श्रीमान सहित माइतीघरबाट घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन । स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको वताए । दुर्घटनामा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

मृतकको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्