फोहोर व्यवस्थापन गर्न बजारभरि बाल्टिन वितरण



मनोज भट्ट,  महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रको फोहोर व्यवस्थित गर्न बाल्टिन वितरण गरिरहेको छ । नगरपालिकाले मंगलवारदेखि महेन्द्रनगर बजार क्षेत्रका बासिन्दालाई बाल्टिन वितरण गर्न शुरु गरेको हो ।

जथाभावी फोहोर फालेर बजार क्षेत्र दुर्गन्धित हुदैँ गए पछि फोहोर न्यूनीकरण गर्न बाल्टीन वितरण शुरु गरिएको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बताए । घरमा उत्पादन हुने फोहरलाई व्यवस्थापन गर्न बाल्टीन वितरणको कार्यक्रम शुरु गरिएको उनले बताए । जसमा पहिलो चरण अन्तर्गत महेन्द्रनगर बजारको गल्ली नं. १, गल्ली नं. २, गल्ली नं. ३, गल्ली नं. ४ र गल्ली नं. ५ का बासिन्दालाई बाल्टीन वितरण गरिने छ । महेन्द्रनगर क्षेत्रका ६ सय ५० परिवारलाई बाल्टीन वितरण गरिन लागिएको छ ।

यहाँका प्रत्येक घरपरिवारलाई कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टा छुट्टै दुई ओटा बाल्टीन वितरण गरिन लागिएको हो । फोहोर संकलन गर्न बजार बाहेक आसपास क्षेत्रका स्थानीयलाई समेत बाल्टिन वितरण गरिने प्रवक्ता राजेन्द्र पाण्डेयले बताए । बजार क्षेत्रका स्थानियहरुले सडक र पेटीमा फोहर फाल्दै आएपछि महेन्द्रनगर बजार दुर्गन्धित र कुरुप बन्दै गएको छ ।

घरबाट उत्पादन हुने फोहोरलाई बाल्टिनमा संकलन गरि सफा, सुन्दर र स्वच्छ महेन्द्रनगर बनाउने योजनामा सहयोग गर्न स्थानियहरुमा भीमदत्त नगरपालिकाले आग्रह गरेको छ ।

बाल्टिनको सहि सदुपयोग भए बजार क्षेत्रको फोहोर नियन्त्रण हुने भीमदत्त नगरपालिकाले बिश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्