होलबडी चेकअप कहाँ कति ?



प्रशान्त वली 

प्रायः हामी बिरामी परेपछि मात्र स्वास्थ्य संस्थामा जँचाउन जान्छौं । अनि डाक्टरले रगत चाँच, दिसा–पिसाब जाँच, एक्सरे, ईसीजी, इकोजस्ता भएभरका जाँचका लागि प्रेस्क्राइब गर्छन् । हुन पनि के रोग लागेको हो भनेर थाहा पाउन यी जाँचहरू गर्नै पर्ने हुन्छ । रोग पत्ता लागेपछि मात्र बल्ल उपचार शुरु हुन्छ । कहिले त रोग जटिल अवस्थामा पुगिसकेपछि मात्र अस्पताल जाने हुँदा उपचारले निको नहुन सक्छ । त्यसैले बिरामी नभए पनि हामीले समय–समयमा पूर्ण स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।

नागरिक सचेत भएकाले अहिले नियमित स्वास्थ्य परीक्षण गराउनेहरूको संख्यामा बढोत्तरी हुँदै गएको छ । त्यसैले विभिन्न स्वास्थ्य संस्थाले शुल्क तोकेर होल बडी चेकअपको प्याकेज नै बनाएका छन् । तर प्याकेज भन्दै शरीरको पूर्ण स्वास्थ्य परीक्षणका लागि बिरामीबाट अस्पताल नै पिच्छे फरक–फरक शुल्क लिने गरेको पाइन्छ । होल बडी चेकअपका नाममा फरक–फरक शुल्क हुँदा बिरामीसमेत अलमलमा पर्ने गरेका छन् । आमनागरिकको आवश्यकता बुझेर नै निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूले होल बडी चेकअप अर्थात् पूर्ण शारीरिक परीक्षणको प्याकेज उपलब्ध गराउन शुरु गरेका हुन् ।

होल बडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर त्यसभित्र के–के जाँच गरिन्छ, के–के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ जानकारी राखेको पाइँदैन । त्यसैले कुनै स्वास्थ्य संस्थाले होल बडी चेकअप गर्छ भने सो चेकअपमा के–केको जाँच गरिन्छ, कत्तिको विश्वसनीय छ र त्यसका लागि कति पैसा तिर्नुपर्छ भन्ने बुझ्नु जरुरी हुन्छ ।

होलबडी चेकअपपूर्वको तयारी 

  •  कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमुना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निद्रा आदि कुरासँग निर्भर हुन्छ । त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवश्यक छ ।
  •  जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तीमा ८–१० घन्टा सुत्नुपर्छ ।
  • कम्तीमा तीन दिनअगाडिदेखि साधारण खाना खानुपर्छ । धेरै बोसोयुक्त खाना खानाले रगतमा टीजी (ट्राइग्लिसराइड) अर्थात् बोसोको मात्रा बढाउँछ । प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ । व्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ ।
  • विशेष गरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तीमा ८ देखि १० घन्टा खालि पेट हुनु अनिवार्य हुन्छ ।-कमसेकम २४ घन्टाअघिदेखि धूमपान, मद्यपान गर्नुहुँदैन । मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ । भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ ।
  •  जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ ।
  • -जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनावारी चलिरहेको बारे जानकारी गराउनुपर्छ ।
  • पाखुरासम्म सार्न मिल्ने र शरीरमा पनि हल्का एवं सजिलो कपडा लगाउनुपर्छ ।
होल बडी चेक गरेपछि त्यसको रिपोर्टले सामान्यतया सम्भावित रोग र रोग लाग्न नदिने उपायहरूका बारेमा समेत पूर्वजानकारी गराउँछ । अहिलेको सामान्य खर्चले, भोलिको सम्भावित लाखौं खर्च जोगाउन होल बडी चेकअपले अग्रणी भूमिका निर्वाह गर्ने चिकित्सकहरूको भनाइ छ ।

काठमाडौंका केही  अस्पतालले लिने शुल्क 

 वीर अस्पताल-२,५००
अस्पतालले बिरामी आइसकेपछि रोगको पहिचान गरेर स्वास्थ्य जाँच गर्दै आएको छ । आधारभूत स्वास्थ्य चेकअपका लागि २ हजार ५ सय रुपियाँ शुल्क तिर्नुपर्ने अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले बताउनुभयो । यद्यपि प्राविधिक समस्या र भौतिक संरचनाको अभावका कारण छुट्टै प्याकेज दिन नसकिएको अस्पताल प्रशासनले बताएको छ ।
टिचिङ अस्पताल – २,४५०
काठमाडौंस्थित महाराजगन्जमा रहेको टिचिङ सरकारी अस्पताल हो । होल बडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपियाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ ।
सिभिल अस्पताल- २,७००- ४,३४५ 
नयाँ बानेश्वरको सिभिल अस्पतालले होल बडी चेक जाँचका लागि २ हजार ७ सय रुपियाँदेखि ४ हजार ३ सय ४५ रुपियाँसम्म तोकेको छ । चार समूहमा विभाजन गरी प्याकेजका रूपमा होल बडी चेकअप गर्दै आएको अस्पतालले बताएको छ ।
नर्भिक इन्टरनेसनल अस्पताल-४,४०० -३०,०००
काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट सञ्चालित छ । नर्भिकमा ४ हजार ४ सय रुपियाँदेखि ३० हजार रुपियाँसम्म होल बडी चकजाँचको लागि लाग्ने गर्छ । उमेर प्रकृति र लिंगअनुसार १० समूहमा प्याकेज विभाजन गरिएको अस्पतालका नायब महाप्रबन्धक आर.पी. मैनालीले जानकारी दिनुभयो । अस्पतालले सदैव बिरामी मैत्री सेवा प्रवाह गरिरहेको अस्पताल प्रशासनले बताएको छ ।
अल्का अस्पताल- ३,००० ७,०००
निजी तवरमा सञ्चालित ललितपुरको जाउलाखेलस्थित अल्का अस्पतालमा होल बडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिएको छ । समूहअनुसार ३ हजारदेखि ७ हजार रुपियाँसम्म शुल्क लिने गरेको अस्पतालका प्रशासन प्रमुख रोजिका प्रधानले जानकारी दिनुभयो ।
ग्रान्डी इन्टरनेसनल अस्पताल २,००० -३०,०००
निजीस्तरबाट सञ्चालित ग्रान्डी अस्पतालले सामान्यदेखि विशिष्ट प्रकृतिका जाँचहरू गर्दै आएको छ । १० भागमा प्याकेजका रूपमा स्वास्थ्य परीक्षण गरिने भन्दै २ हजारदेखि ३० हजार रुपियाँसम्म खर्च लाग्ने अस्पतालका बजार व्यवस्थापन प्रमुख प्रतिक तिवारीले जानकारी दिनुभयो । २ हजारमा रगतको परीक्षण गरिने र मुटु, मिर्गौलाको पनि सामान्य चेकजाँच हुने गर्छ ।
रगतबाट गरिने जाँच 
-रक्तकण गणना
(कम्प्लिट ब्लड काउन्ट)
-रक्त समूह (ब्लड ग्रुप)
सुगर (फास्टिङ र पोस्टप्रान्डियलर रेन्डम)
-कलेजो
(लिभर फङ्सन टेस्ट)
-मिर्गौला
(रिनल फङ्सन टेस्ट)
-कोलेस्टेरोल
(लिपिड प्रोफाइल)
-युरिक एसिड थाइराइड
(थाइराइड फङ्सन टेस्ट)
-भिटामिन डी
हेपाटाइटिस बी र सी, एचआईभी, भीडीआरएल र टीपीएचए
दिसा–पिसाबको जाँच 
दिसामा इन्फेक्सन
-जुका, रगत भएको वा नभएको
-पिसाबमा इन्फेक्सन
पिसाबमा सुगर, प्रोटिन (एल्बुमिन) को मात्रा
फोक्सो/मुटु/पेट/अन्यको जाँच 
-इकोकार्डियोग्राफी
-पल्मोनरी फङ्सन टेस्ट
-ईसीजी
-छातीको एक्सरे
-पेटको भिडियो एक्सरे
-पाठेघरको मुखको क्यान्सरका
-लागि प्याप स्मेयर
-४० वर्षभन्दा माथिका महिलाका
-लागि म्यामोग्राफी
-४५ वर्षभन्दा माथिका पुरुषका
-लागि प्रोस्टेट जाँच
महिला होस् वा पुरुष, प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा शंका लागेमा थप परीक्षण पनि गर्नुपर्ने हुन्छ । त्यसैले केही अस्पतालहरूले प्रारम्भिक चरण र दोस्रो चरण गरी होल बडी चेकअपको प्याकेज बनाएका हुन्छन् ।

के हो होलबडी चेकअप ?

व्यक्तिले आफ्नो सम्पूर्ण शरीरको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेकजाँच गर्नु÷गराउनु नै होल बडी चेकअप हो । होलबडीमा मुख्यतः मुटु, कलेजो, फोक्सो, मृगौला, छातीलगायत शरीरका विभिन्न अंगको अवस्थाका बारेमा जानकारी दिने गरिन्छ । त्यस्तै दुवै मृगौलाले सहज तरिकाले काम गरे÷नगरेको पनि यस चेकअपबाट थाहा हुन्छ । होल बडी चेकअपबाट भिडियो एक्सरे, मूत्रथैलीको अवस्था, ईसीजी, अल्ट्रासाउन्ड, इको, थाइराइड परीक्षण गरी शरीरका विभिन्न भागहरूको पूर्वजानकारी लिन सकिन्छ । 

होल बडी चेक गरेपछि त्यसको रिपोर्टले सामान्यतया सम्भावित रोग र रोग लाग्न नदिने उपायहरूका बारेमा समेत पूर्वजानकारी गराउँछ । अहिलेको सामान्य खर्चले, भोलिको सम्भावित लाखौं खर्च जोगाउन होल बडी चेकअपले अग्रणी भूमिका निर्वाह गर्ने चिकित्सकहरूको भनाइ छ । परीक्षणपछि के–के कुरामा सावधानी अपनाउने भनेर चिकित्सकहरूले सुझाव दिने गर्छन् । ती सुझावहरू अवलम्बन गर्न सकेमा लाखौँ खर्चेर निको नहुने रोगहरूबाट सजिलै बच्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

होल बडी चेकअपलाई अस्पतालहरूले प्याकेज शीर्षक राखी महिला, पुरुष, उमेर समूहलगायतका आधारमा फरक–फरक शुल्क तोकेका हुन्छन् । महिलामा स्तनलगायत पाठेघरसहित केही थप अंगहरू परीक्षण गर्नुपर्ने भएकाले अलि बढी शुल्क पर्न जाने अस्पतालहरूले जनाएका छन् ।

होल बडी चेकअपमा के–के जाँच गरिन्छ ?

 

होल बडी चेकअप गर्दा गरिने जाँचहरू स्वास्थ्य संस्था नै पिच्छे केही थपघट हुन सक्छ । सामान्यतया यहाँ उल्लिखित चाँचहरू गराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्