ठोकिए दुई हेलिकप्टर



काठमाडौं, नेस
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा माउन्टेन हेलिकप्टरमा क्षति पुगेको छ। एयर डाइनेस्टी हेलिकप्टरले उडान भर्ने क्रममा हेलिप्याडमा पार्किङमा रहेको नाइन एन एकेबीको माउन्टेन हेलिकप्टरमा ठोकिँदा क्षति पुगेको हो। सोमबार बिहान साढे ११ बजे ठोकिएको माउन्टेन हेलिकप्टरको पङ्खा काम नलाग्ने अवस्थामा रहेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ । यस क्रममा कुनै मानवीय क्षति भने भएको छैन। यता नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले घटनाको आन्तरिक छानबिन हुने जनाएको छ। ‘हाम्रो विभागमा स्थायी नियामक निकाय छ। प्राविधिकले घटना कसरी भएको हो भन्ने विषयमा छानबिन गर्ने
छ’ –प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो। घटनालगत्तै छानबिनको प्राविधिक टोली लुक्ला पुगिसकेको उहाँले जानकारी दिनुभयो।

दुई हेलिकप्टर कसरी ठोक्किएका हुन् भन्ने विषयमा प्राविधिकहरूले आवश्यक छानबिन गर्ने र टोलीले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने उपमहानिर्देशक पोखरेलको भनाइ छ। साँघुरो हेलिप्याड भएकाले सो घटना भएको हुनसक्ने प्राधिकरणको प्रारम्भिक ठहर छ। हेलिप्याड विस्तारका लागि प्राधिकरणले जग्गा अधिग्रहण गरेर विस्तार गर्ने चर्चा भए पनि काम अघि बढ्न सकेको छैन। खुम्बुक्षेत्र प्रवेश गर्ने मुख्य मार्ग भएकाले मुख्य पर्यटकीय मौसममा लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टरले दैनिक १ सय २५ का हाराहारीमा उडान भर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्