सवा दुई खर्बको व्यापारघाटामा भारतसँग मात्रै डेढ खर्ब



नेपाल समाचारपत्र, काठमाडौं ।
लू आर्थिक वर्षको शुरूका दुई महिनामै देशलाई २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख रुपियाँ बराबरको व्यापार घाटा भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४९ अर्ब ३४ करोड २९ लाख रुपियाँ व्यापार घाटा भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा व्यापार घाटा ४५ दशमलव ७४ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ। दुई महिनामा २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख रुपियाँको आयात हुँदा १७ अर्ब ६९ करोड ९० लाख रुपियाँ बराबरको मात्र निर्यात भएको छ। नेपालले भारतसँग मात्रै १ खर्ब ३७ अर्ब ८० करोड ६० लाख रुपियाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। त्यस्तै चीनसँंग २९ अर्ब १३ करोड रुपियाँको आयात गर्दा ३ अर्ब ५१ करोड रुपियाँ बराबरको निर्यात गरी २८ अर्ब ७८ करोड ९ लाख रुपियाँ बराबरको व्यापार घाटा भएको छ।

चालू आर्थिक वर्षको दुई महिनामा नेपालले ३५ अर्ब ७१ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ। त्यस्तै २५ अर्ब ६७ करोड रुपियाँ बराबरको स्टील तथा फलामका सामान, १७ अर्ब ३४ करोड रुपियाँ बराबरको विभिन्न मेसिनरी सामान, १७ अर्ब ११ करोड रुपियाँ बराबरको सवारी साधन र १३ अर्ब ५० करोड रुपियाँ बराबरको हवाई यातायातका सामग्री नेपाल भित्रिएका छन्। दुई महिना अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिस्टर धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादन मुख्य रहेका छन्। त्यस्तै हस्तकलाका सामान चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडिबुटी आदि वस्तुको पनि निर्यात भएको छ।

यस अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ। भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। उत्तरतर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रसायनिक मलले प्रमुख स्थान हासिल गरेका छन्। अर्को प्रमख आयातको स्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लास्टिकका कच्चापदार्थ, लुब्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ। नेपालले गरेको वीरगन्ज भन्सार नाकाबाट सबैभन्दा धेरै आयात तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा धेरै निर्यात गरेको भन्सार विभागले जनाएको छ। कुल आयातमा वीरगन्ज नाकाबाट मात्र ३५ दशमलव ५१ प्रतिशत सामान नेपाल भित्रिएको छ। त्यसै गरी कुल निर्यातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र २९ दशमलव ३९ प्रतिशत निर्यात भएको देखिन्छ।

ठूला आयातकर्ता भन्सार नाकाका रूपमा क्रमशः भैरहवा, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल र विराटनगर देखिएका छन् भने ठूला निर्यातकर्ता भन्सार नाकाका रूपमा क्रमशः विराटनगर वीरगन्ज र मेची भन्सार नाका देखिएका छन्। समीक्षा अवधिमा तीनवटा भन्सार जलेश्वर, जनकपुर र भद्रपुरबाट भने निर्यात शून्य देखिएको छ।

प्रतिक्रिया दिनुहोस्