वैकल्पिक पदमार्गको प्रर्वद्धनमा अध्यक्ष र मन्त्री



नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको मोदी गाउँपालिकामा अवस्थित रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सांसद पदम गिरीलगायतका व्यक्ति बास बस्न पुग्नुभयो।

पदमार्गका रूपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै पुग्नुभएका उहाँहरूले उतै रात मात्र काट्नुभएन बिहान सबेरैको सूर्योदय र आसपासका मनोरम दृश्यमा आफूलाई भुलाउनुभयो। विश्वकै उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपुर्ण पदमार्गअन्तर्गत बिरेठाँटी–घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँ पुलदेखि देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदयात्रा मार्गको प्रचार गर्न हालै उहाँहरू सो ठाउँमा पुग्नुभएको हो।

देउपुरका अगुवा एवं इन्जिनियर मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर– भमरकोट–घोडेपानी पदमार्गको सम्भाव्यता अध्ययन गर्न अध्यक्ष तिमिल्सिनासहितको टोली त्यहाँ पुगेको हो। भमरकोट र आसपासका क्षेत्रको अवलोकन गरेपछि उहाँले भन्नुभयो– ‘भमरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटकसँग जोड्न सकेमा यसलाई वैकल्पिक पदमार्गका रूपमा विकास गर्न सकिन्छ।’ भमरकोटसँगैका भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, पुर्णगाउँ, लेस्पार, घुरुङालगायतका ठाउँमा घरबास ९होमस्टे० सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन तिमिल्सिनाले सुझाव दिनुभयो। घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा
सडक बनेपछि सडकले नछोएको र हिमालसहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ। ‘भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सकिने देखियो’, संस्कृति, पर्यटन अधिकारीले भन्नुभयो– ‘यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ।’ उहाँले सो ठाउँलाई पोखरासँग जोडेर पर्यटकीय पूर्वाधार बनाउने प्रतिबद्धता पनि जनाउनुभयो।

मोदी गाउँपालिकाको वडा नम्बर १, २ र ३ को बीचमा पर्ने भमरकोटको चर्चा बाहिर खासै नभए पनि देउपुरबासीका लागि भने प्रकृतिको उपहार नै हो। चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउन सक्छ।

त्यसबाहेक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विस्थापित हुने भनिएको प्याराग्लाइडिङ उडान गर्न भमरकोट उत्तम गन्तव्य हुन सक्ने पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका सचिव राजेन्द्र खड्काले बताउनुभयो। ‘पोखराबाट एक घन्टा दूरी लामो पनि होइन, पोखरानजिकै प्याराग्लाइडिङ स्पट भएन भन्ने व्यवसायीको चिन्ता अब मेटिन्छ’ –उहाँले भन्नुभयो। देउपुरमै जन्मिएर अफ्रिकी मुलुकमा लामो समय दूरसञ्चार इन्जिनियर रहनुभएका मनबहादुर खड्काको अगुवाइमा देउपुर–भमरकोट–घोडेपानी पदमार्ग निर्माण गर्न लागिएको हो।

 

३ वर्षअघि गठित पर्वत भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले विदेशीलाई पदमार्गको अवधारणा अघि सारेको हो। मोदीको तिलाहारबाट शुरू हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर भएको खड्काले जानकारी दिनुभयो। ‘३ किलोमिटर
अघिल्लो वर्ष निर्माण भइसकेको छ’, उहाँले भन्नुभयो– ‘बाँकी आगामी वर्ष पूरा गर्ने लक्ष्य हो, बजेट भए कठिन छैन।’ अघिल्लो वर्ष पर्यटन बोर्डबाट २० लाख रूपियाँ विनियोजन भएकामा चालू वर्ष प्रदेश पर्यटन मन्त्रालयबाट ३५ लाख रूपियाँ छुट्टिएको उहाँले बताउनुभयो। अमेरिकामा मासिक १० लाखको नोकरी छोडेर गाउँमै फर्किनुभएका खड्काले यो रुटमा व्यवस्थित रिसोर्ट, लज, लेकाली खर्कमा भैंसीपालनलगायतको योजना बनाएको सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्