हिमालयले शुरू गर्यो चीनमा नियमित उडान



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा नियमित व्यावसायिक उडान शुरू गर्ने भएको छ। सो एयरलाइन्स चीनको प्रमुख पर्यटकीय शहर चोङकिङ लक्षित उडान शुरू गर्ने भएको हो। हिमालय एयरले गत बिहीबार सो शहरमा पहिलो व्यावसायिक उडान भरेपछि औपचारिकरूपमा चीनको हवाई बजारमा प्रवेश गरेको हो। अब हप्ताको हरेक बिहीबार काठमाडौं–चोङकिङ चार्टड सेवा शुरू गरिने सो कम्पनीले जनाएको छ। यससँगै चोङकिङ– काठमाडौं सिधा उडान भर्ने पहिलो एअरलाइन्स हिमालयन एयर हुनेछ।

गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह ४ बजेर ५५ मिनेटमा उडान गरेको हिमालय एयरले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रातको ११ बनेर ५ मिनेटमा अवतरण गरेको थियो। त्यसै गरी सोही विमान कात्तिक २ गते चोङकिङबाट स्थानीय समयअनुसार रातको १२ बजेर ५ मिनेटमा उडान गरी त्रिभुवन विमानस्थलमा रातको १ बजेर ५५ मिनेटमा अवतरण गरेको थियो। नयाँ गन्तव्य थपिएसँगै निकै उत्साहित हुँदै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो– ‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो, यो उडानको शुरूआतसँगै हामीले ‘विजनेस ट्राभलर’ लाई सेवा उपलब्ध गराउने अवसर पाएका
छौं।’

उहाँले प्रष्ट्याउँदै भन्नुभयो– ‘चीनको चोङकिङबाट काठमाडौं उडान भर्ने पहिलो र एकमात्र वायुसेवा संस्था भएकामा हामी गर्वान्वित छौं।’ हिमालय एयरले धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भिœयाउने र दुवै देशको आर्थिक पर्यटनको विकास गर्न महŒवपूर्ण भूमिका खेल्ने श्रेष्ठको विश्वास छ। यसअघि चीनका सांघाई, ग्वाङजाऊ, ल्हासा, छेन्दु, कुङमिङलगायतका मुख्य शहरबाट चिनियाँ विभिन्न हवाई कम्पनीले काठमाडौं उडान भर्दै आएका छन्।

३ वर्षअघिको भूकम्पपछि चिनियाँ पर्यटकलाई भिसा शुल्क मिनाहा गरेसँगै नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या हरेक वर्ष बढ्न थालेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ९ हजार ४ सय ९७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो वर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ४८ दशमलव ८ प्रतिशतले वृद्धि भएको बोर्डको तथ्यांक छ।

नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ। नेपाल आउने कुल पर्यटक संख्यामा १४ दशमलव ४ प्रतिशत चिनियाँ पर्यटक रहेका छन्। चोङकिङ–काठमाडौंबीच सिधा हवाई सम्र्पकसँगै हिमालय एयरलाइन्सले नेपाली पर्यटन अर्थतन्त्रमा नयाँ र व्यापकरूपमा आफ्नो योगदान पु¥याउने विश्वास लिएको छ।

साथै सो एयरले आगामी दिनमा चीनको बेइजिङ, हाएकाउ, नान्चाङ जोड्ने योजना अघि सारेको छ। नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानीमा ४ वर्षअघि स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने निजी क्षेत्रको विमान सेवा हो।

प्रतिक्रिया दिनुहोस्