रियलका प्रशिक्षक बर्खास्त हुनसक्ने



मेड्रिड, (एजेन्सी)
रियल मेड्रिडका प्रमुख प्रशिक्षक युलेन लोपेटेगुई बर्खास्त हुन सक्ने अवस्थामा छन्। रोनाल्डोले छाडेपछि कमजोर बनेको रियलले लगातार हार बेहोर्दा युलेनमाथि बर्खास्तको सम्भावना भएको हो। रियलले अघिल्ला ५ खेल खेलेकोमा ४ मा हार आत्मसात गरेको छ।

आज राति रियलले च्याम्पियन्स लिगअन्तर्गत चेक टोली भिक्टोरिया प्लेजनसँग खेल्दै छ। यसपछि आगामी आइतबार एल क्लासिको खेलमा बार्सिलोनासँग भिड्दै छ। त्यतिबेलासम्म युलेनको जागिर रहनेछ। यसको बाबजुद क्लबले युलेनलाई बर्खास्त गर्ने तरखर गरिरहेको जनाएको छ। युलेनको जागिर बच्ने सम्भावना आज रातिको खेलमाथि निर्भर हुनेछ। यदि हार भएमा उनका लागि जागिर बचाउन सक्ने उपाय रहनेछैन। जितले केही आशाको किरण भने उनलाई हुनेछ।
युलेनका लागि विश्वकपदेखि नै खराब समय चलेको छ। रुसमा जुलाईमा सम्पन्न भएको विश्वकपमा उनी स्पेनका मेनेजर थिए। तर पहिलो खेल हुने अगाडि नै रियलमा आबद्ध भएको भन्दै उनलाई बर्खास्त गरियो। रुसमा भएको विश्वकपमा स्पेन आयोजक राष्ट्रसँग हारेर बाहिरिएको थियो।

रियल सम्हालेका युलेनको शुरुआती निकै खराब बनेको छ। टोलीका लागि २००१–०२ सिजनपछि हालको सिजन नराम्रो भएको छ। अघिल्ला ५ खेलमध्ये च्याम्पियन्स लिग समूह चरणमा सीएसकेए मस्कोद्वारा हार्नु पनि समावेश रहेको छ। त्यस्तै ला लिगामा लेभान्टेसँग समेत रियलले हारको सामना गर्नुपरेको थियो। ला लिगाको अंकतालिकामा १४ अंकसहित रियल सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्