कांग्रेसको शुभकामना आदानप्रदान १६ गते



नेपाल समाचारपत्र, काठमाडौं
विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत, छठलगायत पर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदानप्रदान गर्दै आएको नेपाली कांग्रेसले यसवर्ष निर्धारित समयको कार्यक्रम स्थगित गरेको छ।

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधनको शोक तेह्रौं दिनसम्म मनाउने भएकाले यो वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको मिति कात्तिक १६ गतेलाई सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ। कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूतसमेत रहनुभएका बास्तोलाको असोज २७ गते राति निधान भएको थियो।

बुधवार हुने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको मिति परिवर्तन भएको बारे कांग्रेसले मन्त्रिपरिषद्का सदस्य, संघीय तथा प्रदेशका सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी तथा कुटनीतिक नियोगका प्रमुखलाई जानकारी गराइसकिएको मुख्य सचिव पौडेलले बताउनुभएको छ।

हरेक वर्ष कांग्रेसले आयोजना गर्ने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपत्यकाका तीन जिल्लासहित केन्द्रीय कार्यालयमा हुने गरेको थियो भने अन्य जिल्ला कार्यालयमा छुट्टाछुट्टै आयोजना गरिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्