दुर्घटनामा ३ को मृत्यु ३४ घाइते



नेपाल समाचारपत्र, काठमाडौं
सप्तरी, धनुषा र सिन्धुपाल्चोकमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन्।
सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ जन्डोलस्थित सडकमा बा५ख १४५१ नम्बरको माइक्रोबसले सोही स्थान बस्ने पैदलयात्री अन्दुलाल चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी सप्तरी शम्भुनाथ नगरपालिका–७ देवधारस्थित सडकमा ना४ख ४४७० नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ६ मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बसका सहचालक काभ्रे घर भएका दीपक राईको सप्तऋषि अस्पताल लाहानमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य ८ जनाको खर्चुहिया पोलिक्लिनिकमा उपचार भइरहेको छ। फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यसैगरी धनुषा जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित सडकमा लक्ष्मीनियाँबाट जनकपुरतर्फ जाँदै गरेको ज१त ११३ नम्बरको ट्याक्टरले ज९प ६१३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटरमा सवार सोही उपमहानगरपालिका देवीचोक बस्ने सन्दीप नायकलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ भैंसे बजारस्थित सडकमा बा४ख ९०१७ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा ट्रकमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ बस्ने लुते तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ट्रकमा सवार २६ जना घाइते भएकोमा १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको र १४ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।

प्रतिक्रिया दिनुहोस्