विराटनगरमा संसाझै हत्या



सरोज यादव ,विराटनगर ।
मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बेला प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मुख्य बजारमा एक जनाको संसाझै हत्या भएको छ ।

बडादशैँको मुख्य दिन अर्थात विजयादशमीको टिकाको दिन शुक्रबार विराटनगरको हनुमान मन्दिर अगाडि धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको हो । धारिलो हतियार प्रहारबाट विराटनगर महानगरपालिका १४ बस्ने राजेश भगतका छोरा १८ बर्षीय राहुल भगतको मृत्यु भएको हो ।

मोरङ प्रहरीको विशेष सुरक्षा योजना लागूभएको अवस्थामा बेलुका ७ ः३५ बजे अज्ञात ब्यक्तिले भगतलाई धारिलो हतियार प्रहार गरी भागेका थिए । भगतको उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको थियो । हत्याको कारण भने खुल्न सकेको छैन ।

चाडपर्वमा हुनसक्ने दुर्घटना न्युनीकरणका लागि मोरङ जिल्लामा ९ सय ५० जना कर्मचारी खटाईएको छ तर पनि प्रहरीकै नाकैमूनि अज्ञात ब्यक्ति हत्या गरी भाग्न सफल भएको छ । सामान्य विवादमा नै राहुलको हत्या भएको र प्रहरी घटनास्थल नजिकै रहेपनि मेलाको समयमा भीडभाड भएका कारण हत्यारा भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्यामकुमार श्रेष्ठले बताए ।

दशैँमा मोरङका अन्य ठाउँमा पनि हत्या लगायतका विभिन्न अपराधिक घटना दर्ता भएका छन् । तर प्रदेशको राजधानी रहेको विराटनगरको मुख्य बजारमा सम्साझै हत्या हुनु सुरक्षाको हिसाबले गम्भीर विषय हो । प्रहरीले आफ्नो काम अत्यन्त सक्रियता साथ गरेता पनि काहिँकतै घटना भएको र यस्ता घटना हुन नदिन प्रहरी मात्रै नभई नागरिक पनि सचेत हनुपर्ने डिसएपी श्रेष्ठले बताए ।

उनले शुक्रबार भएको हत्याको विषयमा पनि आफूहरु हत्यारा नजिक पुगेको बताए । चाडपर्वमा प्रहरीले विशेष सुरक्षा योजना ल्याएपनि प्रदेश १ को राजधानी रहेको विराटनगरमा साँझकै समयमा हत्या हुनु र प्रहरी भएकै स्थानमा हत्या भएपनि हत्यारालाई पक्रन प्रहरी असफल हुनुले सुरक्षा चुस्त नभएको सर्वसाधरणको गुनासो छ ।
प्रहरीले विभिन्न सुरक्षा योजना भन्दै प्रहरी परिचालन गरेपनि सम्साझै बीचशहरमा हत्या हुनुले सर्वसाधरण नागरिकमा सुरक्षाको चिन्ता छाएको छ ।

प्रतिक्रिया दिनुहोस्