सामाजिक सदभाव र संस्कृति जोगाउँदै चन्द्रौटामा “सरायँ जात्रा”



सीताराम चौधरी, कपिलवस्तु ।
विजयादशमीको त्रयोदशीको अवसर पारेर कपिलवस्तुको चन्द्रौटामा सोमबार वृहत सरायँ जात्रा निकाली फूलपाती विसर्जन गरिएको छ ।

परम्परागत हिन्दू संस्कृतिको जगेर्ना गर्न र सामाजिक सदभाव कायम गर्न चन्द्रौटास्थित दूर्गा मन्दिरबाट सरायँ जात्रा निकालिएको हो । सप्तमीका दिन भित्राइएको र नवदुर्गा अवधिभर मन्दिरमा चढाइएका फूलपाती उठाई सरायँ खेल्दै चन्द्रौटा बजार परिक्रमापछि नजिकैको जवई खोलामा लगी फूलपाती विसर्जन गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष ताराप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कपिलवस्तुमा जातीय सदभाव कायम गर्न र भाइचाराको सम्बन्ध स्थापित गर्न गत २०६४ मा चन्द्रौटाको दुर्गा मन्दिरबाट सरायँ जात्रा निकाल्न शुरु गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष पौडेलले बताउनुभयो । विगत १२ वर्षदेखि परम्परागत संस्कृतिको जगेर्ना गर्न सरायँ जात्रालाई निरन्तरता दिंदै आएको उहाँले बताउनुभयो ।

पञ्चेबाजाको तालमा तरबार, खुँडा, खुकुरी र हतियार सहित युवायुवती सरायँ नाच नाच्दै चन्द्रौटा बजार परिक्रमा गरी कर्णेश्वरी मन्दिरमा चढाइएको फूलपाती उठाई मालपोत कार्यालयको बाटो हुँदै फर्किएको सरायँ व्यवस्थापन संयोजक धनिराम पौडेलले जनाउनुभयो । उहाँले भन्नुभयो – “दुर्गा मन्दिर र कर्णेश्वरी मन्दिरमा चढाइएको फूलपाती उठाई सरायँ खेल्दै नजिकैको जवई खोलामा लगी फूलपाती विसर्जन ग¥यौं ।”

तरवार, खुँडा, खुकुरी र हातहतियार लिएर पञ्चेबाजाको तालमा नाचिने सरायँ नाचमा देबीहरुको प्रतिकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार, खुँडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देवी खुशी हुने जनविश्वास छ ।

देबीले महिसासुर र सुम्भको बध गरेको दिन बिजयादशमीको दिनदेखि नाचिने यो नाच खुशियालीमा नाच्न किमदन्ती छ । सरायँ जात्रामा प्रदेशसभा सदस्य अर्जुनकुमार के.सी., शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपमेयर शिवकुमारी थारु लगायत जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, कार्यकर्ता, स्थानीय पुरुष, महिला, युवायुवती, केटाकेटी लगायत हजारौंको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्