दुई वटा युवा क्लवको कार्यक्रम जुधेपछि तनाव



धनवीर दाहाल, रुकुम ।
एउटै ठाँउमा दुई वटा युवा क्लवको कार्यक्रम जुधेपछि रुकुम पश्चिमको मग्मामा तनाव भएको छ । रुकुम पश्चिम–बाँफिकोट गाउ“पालिका–६, मग्मामा दुई वटा कार्यक्रम एकै साथ सुरु गरिएपछि तनाव उत्पन्न भएको छ । प्रगतिशिल युवा क्लव र लोकतान्त्रिक खेलकुद संघले एकै पटक खेलकुद प्रतियोगिता आयोजना गरेपछि समस्या भएको हो ।

कात्तिक ३ गते उद्घाटन गरिएको लोकतान्त्रिक खेलकुद संघको कार्यक्रम प्रहरीले अघि बढ्न दिएको छैन । गाउँपालिकाको अनुरोधमा प्रहरीले संघले आयोजना गरेको कार्यक्रम रोकेको हो । गाउँपालिकासँग अनुमति नलिई, परामर्श र सल्लाह नै नगरी जवरजस्त ढंगले कार्यक्रम जुधाउने र निहु खोज्न थालिएपछि खेल रोकिएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो । गाउँ सरकारसँग कुनै पनि छलफल नै नगरी अनुमति नलिएरै आयोजना गरिएको कार्यक्रम रोकिएको अध्यक्ष केसीले बताउनुभयो ।

स्थानीय सरकार, प्रहरी कसैसँग समन्वय नै नगरी गरिएको कार्यक्रमले सरकारको नियम उलंघन गरेकाले कार्यक्रम रोक्न बाध्य भएको अध्यक्षको भनाई छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था उलंघन गरिएको दावी अध्यक्षको छ । प्रगतिशिल युवा क्लवले गाउँपालिकाबाट अनुमति लिएरै खेलकुद तथा सास्कृतिक कार्यक्रम सञ्चालन गरेको र लोकतान्त्रिक खेलकुद संघले विना कुनै अनुमति खेल जुधाएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ । प्रगतिशिल युवा क्लवले खेलकुद तथा सास्कृतिक कार्यक्रम गर्न अनुमति माग्दै असोज १८ गते गाउँपालिकामा निवेदन दिएको र सोही निवेदनका आधारमा असोज २१ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक ४ देखि ७ गते सम्म कार्यक्रम सञ्चालनको अनुमति दिइएको अध्यक्ष केसीले बताउनुभयो ।

समाज सुधार युवा क्लवले कात्तिक ३ देखि ६ गते सम्म खेलकुद कार्यक्रम गर्न अनुमति माग्दै असोज २५ गते निवेदन दिएकामा असोज २९ गतेको कार्यपालिकाको बैठकले कात्तिक १० देखि १३ गते सम्म कार्यक्रम गर्ने अनुमति प्रदान गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो । पहिल्यै निवेदन दिएको प्रगतिशिल युवा क्लवलाई पहिल्यै कार्यक्रम गर्न मिति दिइसकिएकाले कार्यक्रम नजुधाउन भन्दै कात्तिक १० देखि १३ गतेको समयमा खेलकुद कार्यक्रम गर्न समाज सुधार युवा क्लवलाई अनुमति दिइएको उहाँको भनाई छ ।

कात्तिक ४ गतेको कार्यक्रमलाई असर पार्ने गरी समाज सुधार युवा क्लवमै आवद्ध भएकाहरुले विना कुनै अनुमति लोकतान्त्रिक खेलकुद संघको नामबाट खेल खेलाउने प्रयास गरेपछि समस्या आएको गाउँ कार्यपालिकाले बताएको छ । लोकतान्त्रिक खेलकुद संघ बाँफिकोट गाउँपालिका संयोजक विनोद कुसारीले भने सरकारले पार्टीको भातृ संगठनको कार्यक्रममा हस्तक्षम गरेको बताउनुभयो ।

पार्टीको भातृ संगठन भएकाले कुनै पनि कार्यक्रम गर्न कसैको अनुमति नचाहिने दावी गरेका छन् । समाज सुधार युवा क्ल्वले अनुमति लिएको सन्दर्भमा आफूलाई केही थाहा नभएको भन्दै उहाँले पार्टीको भातृ संगठनको कार्यक्रम विना अनुमति नै चलाउँदै आएको चलाइने बताउनुभयो । उहाँले प्रहरीले हस्तक्षेप गरेर खेलकुद सामग्री लिएको दुखेसो गर्नुभयो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले एउटै ठाउँमा दुई वटा खेलकुद कार्यक्रम जुधेपछि समस्या हुने भएकाले सहजिकरण मात्रै गरिरहेको बताउनुभयो ।

दश मिनेटको दुरीमा एकअर्कालाई समस्या हुने गरी कार्यक्रम भएपछि अनुमति नलिएकालाई कार्यक्रम सञ्चालन नगर्न सल्लाह मात्रै प्रहरीले दिएको उहाँको भनाई छ । खेलकुद सामग्री आयोजक समितिले नै सुरक्षित राखेको डिएसपी खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्