कुस्मामा जुवाखालबाट १६ जना पक्राउ



पर्वत(नेस)
दशैंमा जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पर्वतको कुस्माबजारबाट प्रहरीले पक्रेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले जुवा खेलिरहेको अवस्थामा पर्वतको कुस्मा नगरपालिका वडा नं ६ फिल्महल चोकबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार दशैंको टिकाको दिन जुवा खेल्दै गरेको अवस्थामा १ लाख ७१ हजार ९ सय रुपैयाँ नगद सहित जुवाखालबाट उनीहरुलाई पक्राउ गरिएको हो । पर्वत प्रहरीको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाखालबाट पक्राउ पर्नेहरुमा कुस्मा नगरपालिका वडा नं ९ घर भएका नेपाल तरुण दल पर्वतका जिल्ला उपाध्यक्ष सुुनिल क्षेत्री सहित बाग्लुङ्ग नगरपालिका १२ घर भई पर्वत कुस्मा नगरपालिका ६ वस्ने युनिस मिया, कुस्मा – ५ का महेन्द्र जोशी, कुस्मा – ६ का रफ दिन मिया, सोही ठाउँका मोहविन दिन मिया, कुनपा–७ बस्ने शसि भुषण कुमार, कुश्मा नगरपालिका–५ का सुर्वण अर्याल, कुस्मा – ४ का राजेशकुमार श्रेष्ठ रहेका छन । यस्तै.कुनपा–६ का साजिद खान, वाग्लुङ नगरपालिका – २ घर भै हाल कुस्मा–६ बस्ने ज्ञानबहादुर कार्की, सोही ठाउँका रहिमद मिया र मोहम्मद तारा, कुस्मा – ५ का अजिम दिन, कुस्मा – ७ का कलाम दिन, कुस्मा – ६ का ताहिर वक्स, कुस्मा – ५ का दिपक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए ।

समाजमा हुने जुनसुकै अवान्छित, कानुन विपरितका क्रियाकलापहरुलाई पूर्ण रुपमा नियन्त्रण गरी सभ्य तथा सुरक्षित समाज निर्माण गर्ने अभियान अन्तर्गत विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

प्रहरीले जुवा ऐन अनुसार म्याद थप गरेर अनुसन्धान गरिएको प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्