विराटनगरमा कुस्ती प्रतियोगिता



सरोज यादव, विराटनगर ।
बडादसैंको अवसरमा विराटनगरमा आयोजित तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । ब्रह्मपुरा दुर्गा पुजा आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल तथा भारतका कुस्ती खेलाडीको सहभागिता रहेको थियो ।

तराईमधेशको मौलिक संस्कृतिसंग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षणगर्ने प्रयास स्वरुप ब्रह्मपुरामा विगत एक दशकदेखि कुस्ती प्रतियोगिताको आयोजना हुंदै आएको छ । प्रतियोगितामा भारतको दिल्ली,जयपुर,पञ्जाब,लखनउ,बनारस र बिहारका ३५ जनासहित नेपालका सर्लाही,सप्तरी र नवलपरासीका ५ जना पहलमानहरुले खेल प्रर्दशन गरेका छन ।

 

प्रतियोगिताका बिजयी खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको प्रतियोगिताका संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष विजय कामतले जानकारी दिए । मौलिक परम्परा अनुसार आयोजना गरिएको कुस्ती खेलका सहभागिलाई हौस्याउन परम्परागतरुपमा ढोल समेत बजाइएको थियो ।

तीन दशक अघिसम्म मोरङ र सुनसरीमा समेत उल्लेख्य संख्याका पहलमानहरु थिए । तर पछिल्लो समय मनोरंजनका आधुनिक साधनहरुको बिकास भएपछि कुस्ती प्रतियोगिताको आयोजनानै हुन छाडेपछि यस खेलबाट खेलाडीहरु पलायन भएका छन ।

प्रतिक्रिया दिनुहोस्