सिद्धाश्रममा नेपाली भक्तजनको घुइँचो



मध्यप्रदेश ।
मध्यप्रदेशको व्यौहोरी जिल्लाको शहडोलस्थित पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रमधाममा बडादशैंँको उपलक्ष्यमा नेपालीको भक्तजनको भीड लागेको छ ।

गत असोज ३१ तथा कात्तिक १ र २ गते यहाँको विशेष दशहरा पर्वका उपलक्ष्यमा भगवती मानवकल्याण सङ्गठनले आयोजना गरेको महाशक्ति सम्मेलनमा पाँच सयभन्दा बढी नेपाली भक्तजनको सहभागिता रह्यो । नशामुक्त, मांसाहारमुक्त र चरित्रवान् जीवनशैलीका लागि मानवकल्याण सङ्ठनको विशेष भूमिका रहेको सङ्गठनअन्तर्गत नेपालका अध्यक्ष हरिश्चन्द्र त्रिपाठीले बताउनुभयो । “आजभोलि भगवान्को भक्ति गर्नु र उहाँलाई प्रसन्न पारेर आशीर्वाद लिनु मुख्य मानिन्छ तर भगवती मानवकल्याण सङ्गठनको उद्देश्य भनेको सम्पूर्ण मानिसको कल्याण गर्नु हो”, त्रिपाठीले भन्नुभयो ।

सङ्गठनले नेपालमा निरन्तर दुर्गाचालीसा पाठ लगाउँदै मानिसमा धर्म कस्तो हुनुपर्छ भन्ने प्रचार गर्दै आएको बताइएको छ । भगवती मानवकल्याण सङ्गठन नेपाल शाखाका नामबाट विसं २०६७ मा दर्ता भई सङ्गठनले आफ्नो काम अघि बढाउँदै आएको छ ।

हाल नेपालबाट दुई हजारभन्दा बढी भक्तजन सिद्धाश्रम धाममा पुगिसकेका छन् भने लगभग सात सय नेपाली दीक्षित भइसकेका छन् । ऋषि सचितानन्दले उक्त धामको निर्माण गरी भारतका विभिन्न जिल्लामा समेत सचेतना कार्यक्रम आयोजना गर्दै आउनुभएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्