भारतमा रेल दुर्घटना हुँदा कम्तिमा ६० को मृत्यु, १०० बढी घाइते



भारत ।

भारतको पञ्जाबस्थित अमृतसरमा रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १०० बढी घाइते भएका छन् ।

पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै शुक्रबार साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो । त्यही वेला पछाडिबाट आएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् ।

मोदीको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्