बडादशैँमा समेत खर काट्ने चटारो



बैतडी ।
नेपालीहरुको महान् चाड मानिने बडादशैँको चहलपहल जताततै छाइरहेका बेला बैतडीका स्थानीय महिला भने हिउँदका लागि खर काट्ने काममा व्यस्त भएका छन् ।

पछि गहुँ छर्नका लागि खेत तयार पार्ने बेला आउने भएकाले दशैँको महत्वभन्दा पनि उनीहरुले घाँस भित्र्याउने कामलाई निरन्तरता दिएका हुन् । स्थानीय महिलाले छिमेकीसँग पालोपैँचो गरी खर घाँस काट्ने गर्छन् ।

हिउँदे मौसममा गाईभैँसीलाई खुवाउन घाँसको अभाव हुने भएकाले मकैबाली भित्र्याएर खर घाँस भित्र्याउनमा लागेको हरिना साउदको भनाइ छ । यो मौसममा धेरै कामको चटारो हुने भएकाले कामको सिलसिलामा भारत गएका धेरैजसो युवा पनि घर फर्कने गरेका छन् ।

बैतडीका महिला दशैँको रमझममा रमाउनुभन्दा खर काट्नमै व्यस्त रहेका पाइन्छन् । मङ्सिर पहिलो सातातिर वनमा रहेको हरियो घाँसलाई काटेर खर बनाउने कार्य सम्पन्न गर्ने गरिन्छ ।

खर काट्ने बेला कतिपय ठाउँमा भिर भएकाले महिलाले जोखिम मोलेरसमेत खर काट्ने गरेका छन् । हरियो घाँसको लोभमा उनीहरु भिरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेका छन् ।

 

स्थानीय उत्पादनको व्यापार बढ्यो

बैतडीका विभिन्न स्थानमा दशैँको अवसरमा लागेको मेलामा स्थानीय उत्पादनको व्यापार बढेको पाइएको छ ।

स्थानीयस्तरमा उत्पादन हुने फलफूलमा ओखर, केरा, अम्बा, दारिमलगायतका फलफूलको व्यापार बढेको स्थानीय व्यापारीले बताएका छन् । यसका साथै निगालोबाट बनेका डोका, नाङ्लालगायतका सामग्रीको व्यापार बढेको व्यापारी दिनेश विष्टले बताउनुभयो ।

निँगलाशैनी मन्दिरको मेलामा बैतडी तथा दार्चुलाका स्थानीय बासिन्दाले स्थानीयस्तरमा उत्पादित सामानको बिक्री गर्ने गर्छन् । मेलाका अवसरमा स्थानीयस्तरमा उत्पादित सामग्रीको व्यापारले उनीहरुको आर्थिक अवस्थामा समेत परिवर्तन आउने विश्वास गरिएको छ । स्थानीय उत्पादनले यस्तै मेलाका बेला बजार पाउने गरेको किसानले बताएका छन् ।

यस्तै पाटनमा रहेको उदयदेव मन्दिर, तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरलगायत स्थानमा सञ्चालन भएका मेलामा पनि स्थानीय उत्पादनले बजार पाएको स्थानीय व्यापारीले बताएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्