त्रिपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत



डोल्पा ।
डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ ।

नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशँैको टीका लगाउने प्रचलन छ ।

नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी देवीकृष्ण उपाध्यायले बताउनुभयो ।

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन्”, पूजारी उपाध्यायले भन्नुभयो ।

“दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम छ ।”

ज्योतिषका अनुसार आज बिहान ९ बजेर ५१ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ ।

नेपालभर ज्योतिषको साइतअनुसार जमरा टीका लगाउने प्रचलन भए पनि त्रिपुराकोटमा बेलुकीमात्रै टीका जमरा लगाउने प्रचलन नेपालमै नयाँ रहेको बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्