सङ्घीय कानून नबन्दा प्रदेश सरकार अन्योलमा



जुम्ला ।
सङ्घीय सरकारले आवश्यक ऐन कानून नबनाउँदा प्रदेश सरकार अन्योलमा परेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनुभएको छ ।

 

उहाँले भन्नुभयो, “सङ्घीय सरकारले कानूनी बाटो नदिँदा प्रदेश सरकार अन्योलमा परेको छ, सङ्घीय सरकारले सङ्घीय प्रहरी र लोकसेवा ऐन दिन ढिलो गर्नु हुँदैन ।”

 

दशैँ मान्न जुम्ला पुग्नुभएका मन्त्री भण्डारीले पत्रकार भेटघाटमा सङ्घीय सरकारले काम गर्न नसक्दा प्रदेश सरकार अघि बढ्न नसकेको टिप्पणी गर्दै भन्नुभयो, “ प्रदेश सरकार सङ्घीयता सफल बनाउनका लागि अघि बढ्ने प्रयत्न गरेको छ तर सङ्घीय सरकारले ढिलाइ गरिरहेको छ ।’’

जुम्ला सदरमुकाम खलङ्गामा ऊर्जा सङ्कट भइरहेको स्मरण गर्दै मन्त्री भण्डारीले तातोपानीमा एक मेगावाट वायु ऊर्जा र एक मेगावाटको चुकेनी जलविद्युत् आयोजनाको काम पूरा हुनेबित्तिकै अन्धकारमुक्त खलङ्गा हुने बताउनुभयो ।

कर्णाली प्रदेशमा आवश्यक कर्मचारी दुई हजार ३०० भए पनि ९०० कर्मचारी मात्रै छन्, उहाँले भन्नुभयो, “कर्मचारी राख्न पाउने र पदोन्नति र कारवाही दुवै गर्न पाउने अधिकार प्रदेश सरकारलाई हुनुपर्छ ।”

प्रदेशसभाका सांसद पदमबहादुर रोकायाले कर्णाली प्रदेश सरकार पर्यटनको प्रवद्र्धन गर्न सकेमात्रै बलियो हुन सक्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्