त्रिशूलीमा पौडी खेल्दा १९ वर्षीय एक युवाको मृत्यु



विदुर ।
नुवाकोटको विदुर नगरपालिका–२ का १९ वर्षीय सुवास भण्डारीको पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ ।

बुधबार दिउँसोदेखि नदीमा बेपत्ता भएका सुवासको शव खोज्न विपद् व्यवस्थापन तालीम केन्द्र चितवनबाट आएका सशस्त्र प्रहरी टोली र नुवाकोट जिल्लामा रहेको सशस्त्र प्रहरीका प्रमुख निरञ्जन भण्डारीको नेतृत्वको टोलीले खोज्दा आज शव फेला पारेको थियो ।

स्थानीयवासीका अनुसार सुवास दोस्रो पटक पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएका थिए । सुवाससहित चारजना युवा पौडी खेल्न गएका र सुवास दोस्रो पटक नदीमा पस्दा डुबेर आकुल ब्याकुल भएका र सङ्गै गएका साथीहरुले बचाउन खोज्दा नसकेको स्थानीयवासीले जानकारी दिए ।
नदी नजिकै सुवासको कुखुराको फार्म रहेकाले उनी घरबाट फार्ममा जाने भनेर हिँडेका थिए । सुवासका दाजु कृष्णका अनुसार हिजो दिउँसभर स्थानीय र प्रहरीले खोजी गरे पनि सुवास नभेटिएपछि कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर टोलीलाई बोलाइएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्