माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते



धनुषा ।
धनुषाको धनुषाधाम नगरपालिकामा आज बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय धनुषाधामले दिएको जानकारीअनुसार धनुषाधाम–४ लक्ष्मीपुरमा माटोको ढिस्कोमा परेर यसै नपाको वडा नं ९ धारापानी बस्ने रामअवध यादवकी आठ वर्षीया छोरी सिर्जनाकुमारी यादवको मृत्यु भएको हो ।

तराई मधेशमा तिहार र छठ नजिकिँदै गर्दा माटोले घर लिपपोत गर्ने प्रचलन रहेको र बालिका माटो खन्न गएका बेला माथिबाट ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इप्रका धनुषाधाम इन्चार्ज प्रहरी निरीक्षक प्रकाश दाहालले माटो खन्न गएका अरु दुई बालिका मिका पण्डित र रञ्जिता पण्डित घाइते भएको बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्