बैतडीमा एक हजार एक सय पशु बलि



विनोद सिंह विष्ट, बैतडी ।
दशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठहरुका १ हजार १ सय पशुबलि चढाईएको छ । महानवमी र महाअष्टमीमा पुजाअर्चनासहित उक्त संख्यामा रांगा र बोकाको बलि दिइएको हो। महानवमीको अवसरमा पाटनस्थित उदयदेव मन्दिर आज ३६ रांगा र ६ बोकाको बलि दिईएको छ ।

यस्तै महाअष्टमीको अवसरमा बुधवार देहिमाडौंमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ३५२ रांगा र ३३५ बोकाको बलि चढाईएको बैतडीका प्रहरी प्रबक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो । महाअष्टमीको दिन निंगलाशैनी भगवती मन्दिरमा ५० हजार बढी दर्शनार्थीले दर्शन गरेको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रन बहादुर बोहराले बताए ।

मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा १३३ रांगा र १६७ बोकाको बलि दिईएको छ । यस्तै पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिरमा १३ रांगा र ५० बोकाको बलि दिइएको छ । यस्तै त्रिपुरा सुन्दरी मन्दिरमा पनि रांगा तथा बोकाको बलि दिइएको छ । यस्तै दशैंको दिन भोली दोगडाकेदार १ रिम धुरामा रहेको भुमिराज मन्दिरमा पुजाआजासहित मेला लाग्ने स्थानीय रामसिंह कुँवरले जानकारी दिए ।
यहाँका मन्दिरमा बैतडीसहित सुदूरपश्चिम र छिमेका राष्ट्र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशुबलि बैतडीमा दिईने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्