बालुवासँग भविष्य साट्दै कलिला वालवालिका



महोत्तरी ।
महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात वर्षीया रुकसना खातुन आफ्नो आमासँग स्थानीय मरहा नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी थिइन् ।

घरबाट नजिकै विद्यालय रहेकाले रुकसना खातुन साथीसँग नियमितरुपमा विद्यालयमा पढनका लागि जाने गर्छिन । विद्यालयबाट फर्किएपछि अन्य साथी खेल्नमा व्यस्त रहेको समयमा उनी नदीमा कलिलो हातमा बेल्चा समाउन बाध्य छिन् ।

नदीमा बालुवा चालेर जीवनयापन गर्ने उनको परिवारमा अन्य आम्दानीको स्रोत नभएपछि उनी आमाबाबुलाई सहयोग गर्नका लागि सकिनसकि बेल्चा उठाएर गाह्रो काम गर्न बाध्य छिन् । रुकसना खातुनकी आमा साखिला खातुनका अनुसार बालुवा विक्री नै मुख्य आम्दानीको स्रोत भएकाले वालवालिकालाई काममा लगाउनु रहर नभई बाध्यता रहेको जवाफ दिइन् ।

गरिवको करले महँगो गाडीमा सवार हुने राजनीतिक नेतृत्वले चुनावका वेला गरेको वाचा पुरा गर्ने तर्फ लागेको देखिएन । विद्यालयमा पढन गएका छोराछोरीलाई अहिले छात्रवृतिबाट समेत वन्चित गरेको साखिलाले दुःखेसो पोखिन । जसोतसो बालुवा विक्री गरेर परिवार पाल्दै आएको उनको भनाई छ ।

त्यस्तै सोही नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी १० बर्षीया सलमा खातुन भने नजिकै विद्यालय भएतापनि पढन जादैनन् । आफुसँग जन्मदर्ता नभएपछि विद्यालयमा पढन नगएकी सलमाले बताईन । मामाघर वस्दै आएकी सलमाले दिनभरि नै नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी हुन्छिन । उनी मात्र होईन, उनको परिवारको ८ जना केटाकेटीमध्ये कोही पनि विद्यालयमा पढन जादैनन् । त्यसको प्रमुख कारण हो, उनीहरुसँग जन्मदर्ता नै छैन ।

जन्मदर्ता बनाउनका लागि गरिएको प्रयास असफल भएपछि आफना ८ जना नातिनातिनी पढनबाट बञ्चित भएको ४७ वर्षीया जामिला खातुनले बताइन् । यहाँका स्थानीय तहमा आपूmले नातिनातिनीका लागि जन्मदर्ता बनाउनका लागि गएको तर त्यहाँ आपूmले गरेको प्रयास असफल भएपछि चाहेर पनि पढाउन नसकेको उनको भनाइ छ । नगरपालिकाले दलितको नाममा करोडाँै खर्च गरिएतापनि गरिव समुदायका लागि बजेट नछुट्याएर अन्याय गरेको उनको गुनासो छ ।

मरहानदीमा असोज १ गतेदेखि नदीजन्य पदार्थ उत्खन्न गर्नका लागि स्थानीय सरकारले छुट दिएपछि अहिले धेरैजसो वालवालिका अभिभावकसँगै बालुवा चाल्नमा व्यस्त रहेको देखिन्छ । अन्य स्थानमा मजदूरी गरिनुभन्दा यहाँ अलि बढी परिश्रम गरेपनि काम अनुसारको दाम पाउदै आएको गौशाला–५ का सुनिल महतोले बताउनुभयो ।

प्रदेश नम्बर–२ सरकारले ‘वेटी पढाऔँ, वेटी बचाऔँ’ नारा अगाडि सारेका छन् तर महोत्तरी गौशाला नगरपालिका–५ स्थित मरहा नदीमा विद्यालय जाने उमेरका धेरै वालवालिका कडा मेहनत गर्न बाध्य छन् । आर्थिक अवस्था कमजोर हुनु, शिक्षाप्रतिको मानसिकतामा कमी, जन्मदर्ता नहुनुजस्ता कारणले यहाँका बालवालिका चर्को घाममा बिहानदेखि बेलुकीसम्म पसिना बगाएर जिवन निर्वाह गर्न बाध्य छन् ।

नेपाल सरकारले तीन चरणमा गरी विद्यार्थी भर्ना अभियान चलाइएतापनि सो अभियान यहाँका इँटा भट्टा, नदी, दलित समुदाय, होटलजस्ता वालश्रम हुने स्थानमा पुगेको छैन । गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगरभित्रको शैक्षिकस्तर सुधार्न आफू प्रयासरत रहने बताएको छ । यस बर्षका लागि छुट्याइएको नगरस्तरीय बजेटमा समेत शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्