दाङका अटोले लिए मनपरी भाडा



दाङ ।
यहाँका प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुवाङ र नारायणपुर बजार क्षेत्र र बजार छेउछाउका गाउँमा चल्ने अटो एवं इरिक्साले मनपरी भाडा उठाउँदै आइरहेका छन् ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरले गत असार २७ गते जिल्लामा सञ्चालन हुने अटो एवं इरिक्साको निश्चित भाडादर कायम गरे पनि यहाँ चल्ने कुनै पनि अटो एवं इरिक्साले सरकारी निर्देशनलाई मानेका छैनन् । यातायात व्यवस्था कार्यालयले प्रतिदुई किलोमिटर रु २० र त्यसपछि प्रतिकिलोमिटर थप रु १० थप हुने गरी भाडादर कायम गरेको थियो । जिल्लाका सबैजसो अटो व्यवसायीले भने सरकारी निर्देशनको अवज्ञा गर्दै अटो चढ्नेबित्तिकै रु ५० लिने गरेका छन् । त्यसमा पनि दुई जना चढेमा रु ८० सम्म लिने गरेका छन् ।

दशैँमा गन्तव्यसम्म पुग्न बाध्यताले अटो चढेकाहरुलाई चालकले ओर्लने समयमा मनपरी भाडा माग्ने र सरकारी भाडादर दिन खोजे झगडा एवं गालीगलोजमा समेत उत्रने गरेका छन् । यसैले बजार क्षेत्रभित्र स्थानीयवासीले नगर बसको आवश्यकता महसुस गर्न थालेका छन् ।

अटो व्यवसायीले मनपरी भाडा लिएपछि घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा पटक पटक मौखिक उजुरी आएपछि अहिले अटोको भाडादर र व्यवस्थापनमा कडाइ गरिने भएको छ । अटो रिक्साले जथाभाबी रोकेर दुर्घटना बढाउने, जहाँतहीँबाट यात्रु ओसार्ने र मनपरी भाडा माग्ने गरेपछि अटो व्यवसायीलाई उपमहानगरपालिकाले एक साताभित्र त्यसलाई व्यवस्थित गराउने घ उपमहानगरपालिकाका उपप्रमुख एवं अटो तथा इरिक्सा व्यवस्थापन समितिका संयोजक सीता न्यौपानेले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवरले पनि एक साताभित्र जिल्लाका अटो एवं इरिक्सालाई नियममा बाँध्ने बताउनुभयो । जताततैबाट भाडामा मनपरी भएको गुनासो आएपछि यसको नियमनका लागि आफूहरुले उपसमितिसमेत गठन गरेको जानकारी उहाँले दिनुभयो । घोराहीमा मात्र करीब ८०० अटो एवं इरिक्सा छन् तर हालसम्म एक दर्जनले मात्र उपमहागनरमा दर्ता गरेका छन् । अटो व्यवसायीका अनुसार हाल जिल्लामा करीब तीन हजार ५०० अटो रिक्सा सञ्चालनमा आएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्