आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला



स्याङ्जा ।
धेरै मजदूरको लागि परिवार पाल्ने र घरखर्च चलाउने आम्दानीको स्रोत बनेको छ– आँधीखोला किनारमा रहेको बगर । आँधीखोलाको किनारमा बालुवा चाल्नुका साथै गिट्टी कुटेर धेरै मजदूरले आफ्नो परिवार पाल्दै र पर्व मनाउँदै आएका छन् ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङकी २७ वर्षीया राधा विश्वकर्मा बाँयेटारी बजारस्थित आँधीखोलाको किनारमा बालुवा चालेर कमाएको पैसाले दशैँमा छोराछोरीलाई नयाँ कपडा किनीदिनुभएको छ । राधाका श्रीमान वैदेशिक राजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ ।

श्रीमानको कमाइको पैसा प्राप्तिको ठेगान नहुने भएकाले आफूले काम गरेर घर परिवारको खर्च चलाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमानले कहिले पठाउनु हुन्छ निधो हुदैँन गाउँघरमा दशैँको बेलामा अरुसँग माग्नभन्दा आफैँले कमाएर दशैँ मनाउन ठीक लागेर काम थालेको छु ।”

बिहानदेखि साँझसम्ममा एक ट्र्याक्टर बालुवा जम्मा गर्ने र एक ट्र्याक्टरको रु एक हजार २०० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

बोधिभञ्ज्याङकै सुमित्रा विकले पनि श्रीमान विदेशमा भएको बताउँदै अरुसँग दुईचार पैसा के माग्नु भन्दै आफँैले दुःख गरेर कमाएर छोराछोरीको कापीकलम र घरखर्च चलाउनको लागि काममा आएको बताउनुभयो । श्रीमानले विदेशमा दुःख गरेर कमाएको पैसामा मात्रै भर परेर बस्नुभन्दा आफूले पनि सानोतिनो काम गरेर केही पैसा कमाउन सके परिवार पाल्न र छोराछोरीको पढाइ खर्च चलाउन सहयोग पुग्ने सोचेर खोला किनारमा काम गर्न आएको बताउनुभयो ।

वालिङ नगरपालिका–१२ स्थायी घर बताउने हाल ठूलाखेत बाँयेटारीमा बस्दै आउनुभएकी माया गुरुङले घरमा यतिकै बस्नुभन्दा काम गर्दा समय बितेको पनि थाहा नहुने र साथीसँग काम गर्दा रमाइलो हुने भएकाले काम गर्न आएको बताउनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्