दृष्टिविहीन गन्धर्व परिवारलाई छोएन दशैँले



दाङ ।
अरुका घरमा दशैँ आएको छ, तर तुलसीपुर–४ रक्षाचौका दृष्टिविहीन रुपा गन्धर्वको परिवारलाई भने दशैँले छोएको छैन । एक छोरा, तीन छोरी दृष्टिविहीन भएकाले सो परिवारलाई दैनिकी टार्न नै समस्या छ । “छोराछोरीले दशैँ आयो, नयाँ कपडा चाहियो भन्छन्, तर मसँग पैसा छैन” रुपाले भन्नुभयो ।

श्रीमान्ले दोस्रो विवाह गरेपछि ती साना बालबालिकालाई पालनपोषण गर्नुपर्ने भएका कारण आफू निकै समस्यामा परेको उहाँको भनाइ छ । “वरपर दशँै आएको छ, छिमेकीको घरमा मीठोमीठो पाक्छ, तर हामीलाई भने दैनिकी चलाउननै समस्या छ” उहाँले भन्नुभयो ।

सम्पत्तिको नाममा छ वटा बाख्रा भएको र अन्य आयस्रोत केही नभएको बताउउने उहाँलाई आफ्नो घर नहँुदा भाडामा रु एक हजार तिरेर बस्नुपर्ने अवस्था छ । यसअघि विभिन्न सङ्घ संस्था र व्यक्तिले दशँै तिहारमा सहयोग गर्ने गरे पनि हाल भने सहयोग नपाएको गुनासो गर्नुभयो । “आज मात्र एक जना परिवारले खाद्यान्न र कपडा सहयोग गर्नुभएको छ, यसैले दशैँ मनाउने सोचमा छौँ उहाँले भन्नुभयो ।

 

कक्षा ४ मा पढ्दै आएका रुपाका जेठा छोरा गणेश गन्धर्वले कहिलेकाहीँ त भोकभोकै बस्नुपर्ने बताए । “अरुले सहयोग गरे खाने हो, होइन भने कपाउने कोही छैन् आमाले बहिनीहरुको हेरचाह गर्ने की कमाउने समस्या छ” उनले भने ।

त्यसैबीच सञ्चारकर्मी चेतन रेग्मीको परिवारले सोमबार रुपाको घरमा पुगेर दशैँका लागि खाद्यान्न, कपडा र नगद सहयोग गर्नुभएको छ । उहाँले गन्धर्व परिवारको अवस्था कमजोर भएको भन्ने जानकारी पाएपछि आफ्नो तर्फबाट केही सहयोग गरेको बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्