राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीमा पुजा



मोतीराम तिमल्सिना, काभ्रे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्लाको पाँचखाल नगरपालिका ९ नम्वर वडामा रहेको पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेकी छिन् । अघिल्लो वर्ष पनि अष्टमीकै दिन राष्ट्रपति भण्डारीले पलाञ्चोक भगवती मन्दिरको पुजा गरेकी थिईन् ।

‘राष्ट्र प्रमुखले जिल्लामा रहेको पलाञ्चोक भगवती मन्दिरको दर्शन गर्नु जिल्लाकै गौरव हो’–प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने–‘राष्ट्रपति समक्ष मन्दिरको संरक्षण र पुनर्निमाणका लागि राज्यका विभिन्न निकायमा पहलकदमीका लागि स्थानीय स्तरबाट समेत अपेक्षा सहितको चासो ब्यक्त गरियो ।’ पलाञ्चोक मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ राउतले मन्दिरको निर्माण कार्य सम्पन्न भएपछि मात्रै गजुर राख्ने कार्य हुने बताए । राष्ट्रपति भण्डारीलाई मन्दिर पुननिर्माण समितिका संयोजक एवं ब्यवस्थापन समितिका कोषाध्यक्ष रामशरण रेग्मीले मन्दिरको गजुर सहितको निर्माण कार्यको ५० प्रतिशत कार्य सम्पन्न गर्न सरकारलाई थप सहयोगका लागि निर्देशन दिन अनुरोध गरेका थिए । राष्ट्रपति समक्ष नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी र राष्ट्रपति भण्डारीकी जेठी छोरी सहभागि थिए ।

राष्ट्रपति भण्डारी काठमाडौबाट पाँचखालमा रहेको नेपाली सेनाको ब्यारेकसम्म हेलिकप्टरमा आई त्यहाँबाट गाडी मार्फत पलाञ्चोक भगवती मन्दिर पुगेकी थिईन् । ८ किमी सडक गाडीमा पुग्दा केहिवेर सर्वसाधारणको आवागमन रोकिएको थियो ।

राष्ट्रपतिको स्वागतका लागि जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, २६ नम्वर बाहिनी भकुण्डेका बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, नगरपालिका संघका सदस्य तथा पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, एसपी रविराज खड्का, कर्णेल सुवास खड्काउपप्रमुखहरु जिल्ला समन्वय समितिकी मञ्जु गौतम, पाँचखाल नगरपालिकाकी लक्ष्मी दनुवार, बनेपाकी रेखा सापकोटा, धुलिखेलकी विमला शर्मा, पाँचखाल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई, वडा अध्यक्षहरु, मन्दिर ब्यवस्थापन समितिका सदस्यहरु, स्थानीयहरुको सहभिगता रहेको थियो ।

९.३५ मा मन्दिर प्रवेश गरेकी राष्ट्रपतिले ९.५० मा पुजा समापन गरी फर्किएकी थिईन् । राष्ट्रपति भण्डारीलाई पाँचखाल नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । स्थानीयहरुको ध्यानाकर्षलाई सक्दो पहल गर्ने राष्ट्रपतिले बताईन् । स्थानीयहरुले मन्दिर निर्माण कार्य सम्पन्न गरी गजुर राख्ने र त्यसको उद्घाटन राष्ट्रपतिबाटै गराउने योजना सुनाए । राष्ट्रपति त्यस कुरामा सकारात्मक रहेको कोषाध्यक्ष रामशरण गिरीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्