म्याग्दीका कोत मन्दिरहरुमा फुलपाती भित्र्याइयो(फोटोफिचर)



प्रताप बानियाँ, म्याग्दी ।
नेपालीहरुको महान् पर्व बडादशैं अन्तर्गत नवदुर्गाको सातौं दिन मङ्गलबार म्याग्दीका विभिन्न कोत मन्दिरहरुमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको छ । सदरमुकाम बेनीमा रहेको बेनी कोत मन्दिरसहित जिल्लाका अन्य कोत मन्दिरहरुमा धार्मिक परम्परा र हिन्दु संस्कार अनुसार पुजापाठ गरी फुलपाती भित्र्याइयो हो ।

बेनी कोतभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको आज सप्तमीका दिन बेनी कोत मन्दिरमा फूलपाती भित्र्याइएको छ । बेनीबजार र नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्री बक्स गुल्मबाट ल्याइएको फुलपाती बेनीको बेनी कोत मन्दिरमा भित्र्याइएको थियो । कोत मन्दिरबाट शुरु भएको पञ्चेबाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पूजा गरेर कुष्माण्ड (फूर्से) र बोका (छाग)को बलि दिई कोतमा फुलपाती भित्र्याइएको हो ।

हिन्दुधर्म, संस्कृति र परम्पराअनुसार विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्र्याइएको बेनी कोटभण्डार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर खत्रीले बताए । फुलपाती भित्र्याउने क्रममा नेपाली सेना तथा प्रहरी जवानहरुले तोप पड्काउनुका साथै सलामी अर्पण गरेका थिए । विधि र प्रक्रिया अनुसार पूजाआजा गरेर फूलप्रसादसहित फुलपाती भित्र्याएको अवलोकन गर्न सर्वसाधारणहरु पुगेका थिए ।
सोही अवसरमा लक्ष्मीनारायण मन्दिर विकास समितिका पदाधिकारीले भजनकिर्तन समेत गरेका थिएभने नेपाल भाषा मंकाः खलका युवाहरुले ढिमे र बाँसुरी बाजा बजाएका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण बराईलीलगायत उच्च सरकारी अधिकारी तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कोटभण्डार टोलवासीले कोतको लिपपोत र सङ्गमचोकवासीले फुलपाती बढाइँको लिपपोत र सरसफाई गरेका थिए । बेनी नगरपालिका अन्तर्गत घतान कोत, पुलाचौर कोत, चिप्लेटीको निशानकोत, गाजनेको डढेकोत, ज्यामरुककोटको खड्गभवानी कोत तथा ताकमको ताकम कोत लगायतका दुर्गा भगवतीको मन्दिरमा धार्मिक विधिअनुसार पूजाअर्चना गरी फूलपाती भिœयाइएको जनाइएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्