सस्तो बजारमा बिचौलियाकै हालीमुहाली



कृष्णउदास खनाल, वीरगन्ज ।
चाडपर्वमा सर्वसाधारणको लागि भनेर खोलिएको सस्तो बजार सीमित उच्चवर्गहरुको पहुंचमा मात्रै पुगेको छ । हरेक बर्ष जस्तै यसबर्ष पनि वीरगन्ज उद्योग वाणिज्य संघले आफ्नो भवन परिसरमा लगाएको सस्तो बजारको बारेमा सामान्य नागरिकहरु भने बेखबर देखिएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघले आफ्नो औपचारिकता पूरा गर्नको लागि मात्रै हरेक बर्ष आफ्नै भवनमा लगाउने गरेको सस्तो बजारमा उद्योगी व्यावसायीका नजिकका परिवार र केही अन्य ग्राहकहरु बाहेक अन्य सामान्य नागरिकहरुको पहुंचमा भने पुगेको नसकेकको हो । उद्योगी व्यापारीहरुले चाडवाडमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि गरी विक्री वितरण गर्ने गरेकाले सस्तो बजारमा सीमित सामानहरु मात्रै राखेर अन्य सामानहरु भने महंगो मूल्यमा विक्री वितरण गर्ने गरेको नगरवासीहरुको आरोप छ ।

दशैंमा सबैभन्दा अति आवश्यकीय उपभोग्य वस्तु चिनीको स्टल समेत राखिएको छैन । चिनीमा उखु उत्पादक उद्योगी र सरकारको आ–आफ्नै स्वार्थका कारण सीमित उच्च वर्गकाहरुको मात्रै पहुंचमा रहेको सस्तो बजारमा समेत चिनी किन्न पाईएको छैन । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैंया निर्धारण गर्न निर्देशन दिएको भएपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योगीहरु उक्त मूल्यमा चिनी विक्री गर्न असहमत भएपछि अहिले सर्वसाधारणहरुले भने बजारमा महंगोमा चिनी खरिद गर्न बाध्य भएका छन् ।

चिनीको मूल्यमा विवाद देखिएपछि स्थानीय प्रशासन पनि यस विषयमा मौन बस्न बाध्य छ । चिनीको मूल्यमा सहमति हुन नसक्दा चाडपर्वका लागि चिनी आयात गरेको साल्ट ट्रेडिङ कर्पोरेशनले पनि अहिले चिनी विक्री गरेको छैन । सस्तो बजारमा नागकिरलाई आवश्यक उपभोग्य वस्तुहरु पर्याप्त नभएका कारणले पनि निम्न वर्गका नागरिकलाईलाई भने सस्तो बजारले खासै आकर्षण गर्न सकेको छैन ।

सस्तो बजारमा अहिले तस्करी भईरहेको मरिच भने पांचसय रुपैंया प्रतिकिलोको दरमा विक्री गर्न राखिएको छ ।यद्यपी वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भने आफूहरुले संचालन गरेको सस्तो बजार नागरिक लक्षित भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्