कञ्चनपुरमा तीन भरुवा बन्दुकसहित पाँच जना पक्राउ



मनोज भट्ट, महेन्द्रनगर ।
वन सुरक्षाकर्मीको टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन वटा भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी रहेका छन् । उनीहरुका साथबाट तीन वटा भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए ।

निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीहरुले सोमबार उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो । केही दिन अगाडि उनीहरु बन्दुक लिएको अवस्थामा निकुञ्जको सिसी क्यामेरामा देखिएका थिए। त्यसपछि उनीहरुको भागेर भारत गए ।

त्यसै समयदेखि निकुञ्ज कार्यालयले उनीहरुमाथि निगरानी गदै आएको थियो । दशैं मनाउनका लागि भारतबाट घर आएका बेला उनीहरुलाई पक्राउ गरिएका हो । पक्राउ परेकाहरु पाँचै जनालार्ई निकुञ्जको मझगाउँस्थित कार्यालयमा राखिएको छ । उनीहरुलाई वन्यजन्तु चोरी सिकारी, हातहतियार तथा खरखजना अन्तर्गत मुद्दा चलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्