एभरेष्ट बैंकबाट पुनः रकम लुटियो



यमलाल भुसाल, बुटवल ।
बुटवलको बिपी चोक स्थित एभरेष्ट बैंकमा रकम जम्मा गर्न आएका बुटवल १४ बेलवासका दीपक गौतमको ३० हजार रुपैयाँ सोमवार दिउसो चोरी भएको छ ।

दिउसो साढे ३ बजे बैकमा सन्चिता घिमिरेको खातामा रकम जम्मा गर्न भौचर भरेर पैसा टेबुलमा छोडेर लाइनमा बसेका बेला पैसा चोरी भएको हो । बैंकमा आएको अपरिचित व्यक्तिले टेबुलमा रहेको पैसा चोरी गरी भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिनुभयो ।

बैंकबाट खवर हुनासाथ प्रहरी टोली बैंकमा पुगेर घटनाको अनुसन्धान गर्दा बैंकमा जडान गरिएको सिसिटिभीमा रेकर्ड भएको फुटेज अनुसार पैसो चोरी गर्ने ब्यक्ति पैसा लिएर निलो र सेतो रङ्गको स्कुटी चढेर ट्राफिकचोक तर्फ गएको देखिएको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो । गत भदौमा पनि एभरेष्ट बैंकमा रकम जम्मा गर्न आएका ब्यक्तिको २ लाख २३ हजार रुपैयाँ लुटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्