पर्यटकका लागि जीप यात्रा शुरु



चितवन ।
चितवन राष्ट्रिय निजुञ्जमा वर्षात्का कारणले रोकिएको जीप सफारी पुनः शुरु भएको छ । वर्षा समाप्त भएसँगै दशैँको मुखमा जीप यात्रा शुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार असोज २५ गतेदेखि सौराहा, कसरा र मेघौलीबाट जीप सफारी खोलिएको हो । उहाँकाअनुसार सौराहाबाट ३०, मेघौली र कसराबाट आठ÷आठवटा जीप सफारीका लागि अनुमति दिइएको छ ।

पर्यटकलाई निकुञ्ज घुमाउन १० जना क्षमता भएको छानो नभएको जीप प्रयोग गरिँदै आइएको छ । ती जीप प्रवेश गर्दा मूल्य अभिवृद्धि कर बाहेक रु चार हजार निकुञ्जले राजश्व पाउने गर्दछ । विदेशी पर्यटकले प्रवेश शुल्कबापत रु एक हजार ५००, सार्क मुलुकका पर्यटकले रु ७५० र नेपालीले रु १०० शुल्क तिर्नुपर्ने हुन्छ ।

निकुञ्ज सफारीमा जाने पर्यटकले वन क्षेत्रसँगै विभिन्न वन्यजन्तु, तालतलैया, चराचुरुङ्गी अवलोकन गर्न पाउँछन् । मुख्य रुपमा एकसिङ्गे गैँंडा, बाघ, भालु, गोही अवलोकनका लागि पर्यटक निकुञ्ज जाने गर्दछन् ।

यसअघि असार २५ गते वर्षात् शुरुभएसँगै निकुञ्जले सफारी बन्द गरेको थियो । त्यतिबेला सफारीको अनुमति लिएका नवलपरासीको अमलटारीका थारु भिलेज र टेम्पल टाईगरले यसवर्ष हालसम्म अनुमति लिन नआएको अर्यालले बताउनुभयो ।

अहिले पर्यटकका लागि अनुकुल याम भएकाले निकुञ्ज घुम्न आउने पर्यटक बढ्न शुरु भएको सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्