बजारमा मागभन्दा बढी इन्धनः निगम



काठमाडौँ ।
नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ ।

निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिनुभयो ।

डिपोले आइतबार पनि पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको थियो । आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको उहाँले बताउनुभयो ।

पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै उहाँले उपत्यकाबाट बाहिरिने सवारी साधनले पूर्ण क्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निगमले पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको छ । उपत्यकाबाट बाहिरिने सबै सवारी साधन एकैपटक पम्पमा जाँदा केही लाइन देखिएको हुनसक्छ । तर इन्धनको अभाव हुँदैन ।”

निगमको थानकोट डिपोले आपत्कालीन अवस्थाका लागि भन्दै १० कर्मचारीलाई तयारी अवस्थामा राखेको छ । पम्पले जनुसुकै बेला इन्धन माग गरे सार्वजनिक बिदा नभनी उपलब्ध गराइने डिपो प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले डिपोका तीन जना शाखा अधिकृत र केही प्राविधिकसहित १० कर्मचारीलाई तयारी अवस्थामा राखेका छौँ । इन्धनको अभाव हुन नदिन पम्पले माग गर्नेबित्तिकै ट्याङ्करमा लोड गरेर पठाउँछाँै ।” मङ्गलबारसम्म थानकोटस्थित डिपो नियमितरुपमा खुल्ने बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्