पाराग्लाइडिङको विश्व कप नेपालमा



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल पाराग्लाइडिङ तथा ≈यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्व कप हुने भएको छ। हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेममा नेपालका लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको विश्वकप पहिलो पटक आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए।

स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कात्तिक १५ देखि १९ गतेसम्म हुनेछ। उक्त मैदानलाई पाराग्लाइडिङको ट्रेनिङ सेन्टरका रूपमा समेत विकास गरिरहेको संघले जनाएको छ। यसअघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ।

पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानाडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए। नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरूको समूह हुनेछ। प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्नेछ। ६ चरणको अंकलाई जोडेर पहिलो, दोस्रो तथा तेस्रोको घोषणा गरिने छ। एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुनेछ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमिको हुने आयोजकले जनाएका छन्।

नेपालले क्रस कन्ट्रीमा आफूलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ। १८औं एसियाली खेलकुदमा नेपालले पदक हात पार्नुअगाडि पनि २०१८ मा मित्र राष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाइना लिनझाउ पाराग्लाइडिङ प्रि–विश्व कपमा विशाल थापाले नेपालका लागि कांस्य पदक दिलाउन सफल भएका थिए। यसका साथै इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रीमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल भइसकेको संघले जनाएको छ

प्रतिक्रिया दिनुहोस्