प्रधानमन्त्रीलाई नेता नेपालको सुझाव– ‘डण्डा चलाउनुस्’



मोतीराम तिमल्सिना, काभ्रे
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले जनताले धेरै आस गरेको सरकारको कामलाई तीव्र गति दिन प्रधानमन्त्रीले डण्डा चलाउनुपर्ने सुझाव दिएका छन्। ‘प्रधानमन्त्री पहिले तपाईंका मन्त्री अनि सचिव, महानिर्देकश हुँदै इन्जिनियर र निर्माण व्यवसायीमाथि डण्डा चलाउनुस्।’ –नेता नेपालले भने।
मण्डन देउपुर नगरपालिकामा नगर बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले काभ्रेलाई प्रदेशमात्र नभई मुलुककै केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्। नेता नेपालले सुशील कोइराला नेतृत्वको सरकारको पालादेखि नै स्थानीय तहका लागि आवश्यक कानुन निर्माण गर्न ढिलाइ भएका कारण अहिले अधिकारका विषयमा समस्या आएको बताए। सोही कारण स्थानीय तहले आफ्नो अधिकारका लागि संघर्ष गर्नुपरेको उनले बताए। नेता नेपालले काभ्रेको बनेपामा विमानस्थल निर्माणको चर्चाबारे हचुवाका आधारमा नभई विमानस्थल निर्माणपछि त्यसबाट लिनसक्ने फाइदाको अध्ययन गरेरमात्रै काम अगाडि बढाउनुपर्ने बताए।

काभ्रेलाई प्रदेशको राजधानी बनाउने विषयमा सांसदहरू, पार्टीका नेता तथा सरोकारवालाबीच बहस चलाउनुपर्ने बताए। उनले काभ्रेको पाँचखाल तातोपानी नाकासँग सीधा जोडिएको तथा अन्य विभिन्न जिल्लाको केन्द्रसमेत बन्न सक्ने भएकाले सोहीअनुसार पाँचाखाल क्षेत्रको विकास गर्नुपर्ने बताए। कार्यक्रममा नेता नेपालले जिल्लामै पहिलोपटक मण्डन देउपुर नगरपालिकाले शु गरेको नगरबस सेवाको शुभारम्भ गरेका थिए। नगरपालिकाको अग्रसरतामा शुरू भएको नगरबस सेवामा हाल ६ वटा बस सञ्चालनमा ल्याइएको छ भने चाँडै १५ वटासम्म पु¥याउने बताइएको छ। यो सेवा कुन्ताबेसीबाट नयाँगाउँ हुँदै नगरकोट, नगरकोटबाट देउपुर हुँदै कुन्ताबेसी तथा कुन्ताबेसीबाट कोलाचौर तथा ५० किलो हुँदै दोलालघाटसम्म सञ्चालन हुनेछ। यहाँ हेलम्बु यातायात सेवा समितिले बस सेवा सञ्चालन गरेको हो।

कार्यक्रममा नेकपा प्रदेश नम्बर ३ का सहइन्चार्ज हितमान तामाङ, पूर्वसभासद्द्वय कृष्णप्रसाद सापकोटा तथा विदुर सापकोटा, प्रदेश सांसदहरू लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईं, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, उपप्रमुख निर्मला शाही, राजनीतिक दलका प्रतिनिधिलगायतले नगरबस सेवा शुरू भएपछिको फाइदाका विषयमा बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्