बलात्कारका घटना नियन्त्रण गर



कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या भएपछि मुलुकभर बलात्कारका घटनाले बढोत्तरी पाएको छ । मुलुकमा बलात्कारका घटना बढेपछि राज्यको तर्फबाट जसरी यस्ता घटना नियन्त्रणमा आक्रामकरूपमा प्रस्तुत हुनुपर्ने हो त्यो भने हुन सकेको देखिँदैन । नेपाली समाजमा बढ्दै गएको मदिराको व्यापार र सूचना प्रविधिको विकाससँगै भित्रिएको विकृतिले पनि यस्ता खालका समस्या बढ्दै गएको पाइन्छ । केही समयअघि अश्लील साइटहरू बन्द गर्ने सरकारको घोषणा सकारात्मक भए पनि त्यसपछिको अनुगमन नहुँदा विभिन्न माध्यमबाट त्यस्ता साइटहरू सञ्चालनमा रहेको पाइन्छ ।

मुलुकभर यसअघि बलात्कारका घटना नभएका पनि होइनन् । बलात्कारीलाई सुरक्षा निकायले कानुनी दायरामा ल्याएर कारबाही गर्ने गरेको भए पनि त्यस्ता घटना न्यूनीकरण हुन सकेको थिएन । पछिल्लोपटक सरकारले बलात्कारीविरुद्ध कडा कानुन ल्याएको भए पनि कानुनी कारबाहीका बारेमा आमजनतामा चेतना फैलाउन नसक्दा समस्या बढेर गएको छ । निर्मला पन्तका बलात्कारी पत्ता लाग्न नसक्दा सरकार र नेपाल प्रहरीको चर्को आलोचना भएर सरकार र प्रहरी नेतृत्व नै परिवर्तन गर्नुपर्ने आवाज जनस्तरबाट उठेको थियो । विडम्बना अहिलेसम्म बलात्कारी हत्यारा फेला पर्न सकेको छैन । हत्यार फेला नपर्नुमा कतै माथिल्लो निकायको दबाब हो कि भन्ने चिन्ता जनस्तरमा कायमै रहेको छ । तर नियामक निकाय भने हत्याराको खोजी जारी रहेको र अनुसन्धानको क्रममा हत्यारा पत्ता लागउन केही समय लाग्न सक्ने बताउँदै आउनुले पनि केही आशंका जन्माइदिएको छ ।

निर्मला पन्त प्रकरणपछि मुलुकमा थुपै बलात्कारका घटना भएका छन् । जनकपुरमा एक किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको छ । त्यसअघि पोखरामा पनि एक स्कुले बालिकाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले ती घटनामा संलग्न रहेका सबै अपराधीलाई पक्राउ गर्न सफल भए पनि कन्चनपुर घटनाले भने राज्यलाई अझै गिज्याइरहेको छ । बलात्कारीलाई पक्राउ गरेर पुरुषार्थ देखाउनुभन्दा पनि बलात्कारका घटना हुन नदिन राज्यले सबै किसिमका उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । घटनापछि अपराधी समातिनु ठूलो कुरा होइन, समाजमा यस्ता खालका घटना हुन नदिन राज्यले गाउँ–टोल स्तरमा नै जनचेतनाका कार्यक्रम लैजानुपर्ने बेलामा सरकार स–साना कुरामा अल्झेर बसेको छ । घटना भएपछि त्यसलाई नियन्त्रणमा लिनुभन्दा पनि घटना हुन नदिनेतर्फ राज्य उन्मुख हुनुपर्दछ । यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्