एकल साँझमा गुञ्जिए अर्जुन



विन्ध्यवासिनी म्युजिक प्रालि र बिन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा शनिबार राजधानीमा भव्यताका साथ बिन्ध्यवासिनी सम्मान एवं संगीत साँझ–२०७५ सम्पन्न भएको छ। साँझअन्तर्गत नवौं बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०७५ नोमिनेसन प्रमाणपत्र वितरण र अर्जुन पोरखरेल एकल साँझमा यसपटक संगीतकार अर्जुन पोख्रेललाई प्रस्तुत गरिएको थियो।

जहाँ उनले संगीत दिएका तथा गाएका गीतहरू प्रस्तुत गरिएको थियो। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित समरोहमा अर्जुनद्वारा संगीतबद्व गीतहरू उनका साथमा गायकगायिका सुगम पोखरेल, निशान भट्टराई, सान्तोष लामा, सुरेश लामा, अञ्जु पन्त, मन्जु पौडेल, स्वेच्छा ठकुरी, दुर्गा खरेललगायतले प्रत्यक्षरूपमा गाएर सुनाएका थिए। कार्यक्रममा तिमी रोएको पल, म यस्तो गीत गाउँछु, भन्छु आज मनका कुरा, सुन्छु तिमिले मलाई भुल्नै आँटेकी छौ रे, तिमी लाइटर म भको चुरोट, त्यो काले केटाले, छुट्छ कि साथ लगायतका गीत प्रस्तुत गरिएको थियो।

 

कार्यक्रममा लामो समयदेखि संगीत साधनामा जीवन अर्पण गरेकी गायिका ज्ञानु राणालाई ५० हजार रुपियाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै संगीत पत्रकारिता गर्दै आएका ७ प्रदेशका ७ पत्रकारलाई बिन्ध्यवासिनी गीत–संगीत पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। नगद ५ हजार रुपियाँसहित पुरस्कृत हुने पत्रकारहरूमा प्रदेश नं। १ बाट सपनी राई, प्रदेश नं २ बाट शिवम्कुमार शाह, प्रदेश नं। ३ बाट हरिबल्लभ नेपाल, प्रदेश नं ४ बाट प्रकाश पौडेल, प्रदेश नं ५ बाट अनिता खत्री, प्रदेश नं ६ बाट केशव ढकाल र प्रदेश नं ७ बाट कृष्ण वली रहेका छन्। समारोहमा लामो समयदेखि पक्षघातबाट पीडित लोकप्रिय लोकगायक बुद्धिकृष्ण लामिछानेलाई ५० हजार रुपियाँ सहयोग रकम हतान्तरण गरिएको थियो।

सो रकम स्वास्थ्यका कारण लामिछाने कार्यक्रममा सहभागी हुन नसकेपछि उनको पुत्रीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा नवौं बिन्ध्यवासिनी म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयनको नामावली सार्वजनिक गर्दै मनोनयमा पर्न सफल संगीतकर्मी तथा प्राविधिकलाई प्रमाणपत्र सार्वजनिक गरिएको थियो। मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा सो अवार्ड आगामी मंसिर ७ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुने बिन्ध्यवासिनी फाउन्डेसनले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्