सुन तस्करी प्रकरणः पक्राउ परेका श्रेष्ठले दिए तस्करीमा संलग्नता रहेको बयान



काठमाडौँ ।
प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेको बेनु श्रेष्ठले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकारेका छन्।

महानगरीय प्रहरी वृत्त गौशालामा राखिएका उनले सुन तस्करी अनुसन्धान गरिरहेका सरकारी अधिकारीसँगको बयानमा आफूले युनाइटेड अरब इमिरेटसको दुबईमा बसेर सुन काठमाडौं पठाउने गरेको बताएका हुन्।

उनका अनुसार बेनुले आफूले २०७१ देखि सुन तस्करीको संगठित सञ्जालको सक्रिय सदस्य भएर काम गरिरहेको स्वीकारेका छन्। उनले बयानमा केन्द्रीय अनुसन्धान ब्यूरोले २०७३ पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुनमा आफ्नो समेत लगानी रहेको उल्लेख गरे।

श्रेष्ठसँग सोमबार बिहान सरकारी टोलीले कुराकानी गर्दा उक्त बयान दिएका हुन् । टोलीमा सहभागी रहेका एक अधिकारीका अनुसार श्रेष्ठले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरे पनि मुख्य लगानीकर्ता र सुन तस्करी सञ्जालका अन्य सदस्यको नाम खुलाएका छैनन् ।

उनले बारम्बार अर्का फरार आरोपी हरिशरण खड्काको नाम लिएका थिए।

प्रतिक्रिया दिनुहोस्