साश्वतको एकल फोटो प्रदर्शनी



खुमलटारस्थित प्रिमियर स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी साश्वत बुढाथोकीले एकल चित्रकला प्रदर्शनी गरेका छन्। नेपालको कला संस्कृति, वन, वातावरण, विश्व सम्पदामा विशेष दख्खल राख्ने उनको पहिलोपटक इन्द्रजात्रालाई लक्षित गरी २० वटा तस्वीर प्रदर्शनीमा राखिएको थियो। सानै उमेरमा फोटोग्राफीमा रुची राख्ने साश्वतले हालसम्म ५ सयभन्दा बढी फोटोे खिचिसकेका छन्। पढाइसंगै फोटोग्राफीमा अब्बल उनको फोटोको गुणस्तर व्यावसायिक फोटोग्राफरकैजस्तो थियो।

विद्यालय परिसरमा आज आयोजना गरेको फोटो प्रदर्शनीको विद्यालयका निर्देशक पवित्रा लिम्बूले उद्घाटन गर्नुभएको थियो। आफ्नो विद्यार्थीको कलाको उहाँले खुलेरै प्रशंसा गर्नुभएको थियो। भन्नुभयो– ‘हाम्रा लागि यो ठूलो उपलब्धी हो, एउटा विद्यार्थीले खिचेको फोटो प्रदर्शनीले विद्यालयको सान बढेको छ। उनी हाम्रा लागि अब पे्ररणाको स्रोत बनेका छन्। मनको आँखाले देखेको कुरा फोटोमा उतार्नु महानता र कठिन काम हो तर साश्वतले यो काम सजिलैसँग गरेका छन्। रहरले भन्दा पनि निरन्तर प्रयासमा लागे जुनसुकै कामको पनि सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो।

 

फोटोग्राफर साश्वतले आफूले करिब साढे २ महिना लगाएर फोटो तयारी गरेको बताए। ‘मेरो सोख होइन भविष्यमा उत्कृष्ट फोटोग्राफर बन्ने लक्ष्यले फोटो सुट गर्न थालेको हुँ।’ –उनले भने। उनको एकल फोटो प्रदर्शनी अवलोकन गर्न सो विद्यालयका विद्यार्थीहरूको घुइँचो लागेको थियो। साश्वतका आमा सृष्टि र बुबा सुलभ बुढाथोकीले छोराले सानै उमेरमा गरेको फोटोग्राफीको तारिफ गर्नुभएको थियो। दुवैजनाले आफ्नो छोराको भविष्यको लक्ष्य फोटोग्राफी नै भएको बताउनुभएको थियो। प्रदर्शनीमा साश्वतले सबै विद्यार्थीलाई आफूले खिचेका फोटोका बारेमा जानकारी गराएका थिए। फोटोमा हनुमानढोकाको गद्दी बैठक, दरबारक्षेत्र, इन्द्रजात्रामा मात्रै खुल्ने श्वेत भैरव, इन्द्रजात्रामा जीवित देवी कुमारी दर्शन गर्न आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट अतिथिहरूको तस्वीर, शार्दुलजंग गुल्मलगायत इन्द्रजात्रा पर्व झल्कने सम्पूर्ण फोटो कैद गरेका थिए।

कार्यक्रममा विद्यालयकी निर्देशक लिम्बू र प्रिन्सिपल शिरीष श्रेष्ठलाई उहाँहरूले छनोट गर्नुभएको उत्कृष्ठ तस्वीर हस्तान्तरण गरिएको थियो। सानै उमेरदेखि फोटोग्राफी सिक्दै आएका साश्वतलाई प्रशिक्षक राजेन्द्र श्रेष्ठले फोटोग्राफीसम्बन्धी प्रशिक्षण दिँदै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्