दशैंमा सिसडोल ल्यान्डफिल बन्द, कामपा भन्छ: घरबाट फोहोर ननिकालौं



ईश्वरराज ढकाल, काठमाडौं
दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो– ‘यो वर्ष पाँच दिनसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुनेछैन।’ लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसकेर आलोचना खेप्दै आएको कामपाले फोहोर सुचारु हुन थालेपछि दशैं मनाउने वहानामा पाँच दिन फोहोर व्यवस्थापन नगर्ने भएको हो।

विभाग प्रमुख कुवँरले स्थानीयलाई दशैंमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘स्थानीयबासीको आग्रह र कर्मचारीको बिदा व्यवस्थापन गर्न फोहोर रोक्न लागेका हौं।’ स्थानीयले दशैंमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए।

कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमै व्यवस्थापन गर्न अपिल गरेको छ। ‘दशैंको समयमा कर्मचारीलाई समस्या पर्ने भएकाले घरबाट संकलन हुने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेका छौं।’ –विभाग प्रमुख कुँवरले बताउनुभयो। तर कामपाले केही कर्मचारीको सहयोगमा बाटोमा रहेका फोहोर संकलन गर्ने जनाएको छ।

‘बाटोको फोहोर उठाउनेछौं, तर घरको फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेका छौं।’ –विभागीय प्रमुख कुँवरले भन्नुभयो। उहाँका अनुसार बाटोबाट संकलन गरिएको फोहोर टेकुस्थित ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिने भएको छ। अहिले टेकु ट्रान्सफर स्टेसन पनि भरिभराउ भएको छ। दशैंको ५ दिन उपत्यकाका २२ वटै स्थानीय निकायको फोहोर व्यवस्थापन हुनेछैन। हाल दैनिक ८ सय टन फोहोर संकलन हुने गरेको छ। तीमध्य सिसडोल ल्यान्डफिल साइटमा झन्डै ५ सय टन फोहोर व्यवस्थापन हुने गरेको छ। हाल सिसडोलमा दैनिक १ सय २० वटा सवारी साधानले फोहोर व्यवस्थापन गर्ने गरेका छन्।
यो संख्या निजी र अन्य स्थानीय तहको समेत हो।

राजधानीलगायत देशका अधिकांश स्थानको फोहोर व्यवस्थापन निजी क्षेत्रले गर्दै आएका छन्। निजी क्षेत्रका कर्मचारीसमेत बिदामा बस्ने भएकोले ५ दिन फोहोर व्यवस्थापन राकिने भएको हो। २२वटै स्थानीय निकायको फोहोर व्यवस्थापन नहुने भएपछि सबै स्थानीय तहको फोहोर व्यवस्थापनमा समस्या देखिने भएको छ। कामपालगायत सबै स्थानीय निकायका कर्मचारीको बिदा हुने भएपछि ५ दिन फोहोर व्यवस्थापन ठप्प हुने भएको हो।

उता स्थानीय जनताले फोहोर व्यवस्थापन कार्यलाई व्यवस्थित नगराए सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिइसकेका छन्। स्थानीयले १३ गाउँका जनताले आफूहरूलाई अर्को स्थानमा स्थानान्तरण गरी सो क्षेत्रलाई फोहोर व्यवस्थापनमा प्रयोग गर्न सुझाव दिँदै आएका छन्। स्थानीय श्रीराम ढुंगानाले भने– ‘हामीले एक मात्र माग राखेका छौं, उक्त माग पूरा नभए दशैंलगत्तै सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न दिन्नौं।’

प्रतिक्रिया दिनुहोस्