गूर्जा हिमालमा बेपत्ता ८ जनाको शव काठमाडौं लगियो, एक जनाको आफन्तलाई बुझाइयो



प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको गूर्जा हिमाल आरोहणका क्रममा हिमआँधी र हुरीमा परेर ज्यान गुमाएका पर्यटकहरुको शव सङ्कलन गरेर काठमाडौं ल्याइएको छ । धौलागिरी गाउँपालिका–१, गूर्जामा पर्ने ७ हजार १९३ मिटर अग्लो गूर्जा हिमालको आधारशिविरमा हिमआँधी र हावाहुरीमा परेर मृत्यु भएकामध्ये ८ जनाको शव हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।


पाँचजना कोरियाली र तीनजना नेपालीको शव काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो । हिमआँधीमा परेर मृत्यु भएका म्याग्दीको गूर्जाका ३४ वर्षीय नेत्रबहादुर छन्त्यालको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको उहाँले बताउनुभयो । दुर्घटनामा परेर मृत्यु भएकामध्ये दुईतीन जनाबाहेक अधिकांशको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सिम्रिक एअरको हेलिकप्टरको प्रयोगमा आइतबार बिहान खोजी गरी मृतक सबै ९ जना पर्यटकको शव सङ्कलन गरिएको थियो । दक्ष जनशक्ति र उपकरण नहुँदा तथा समय अभावका कारणले गर्दा शनिबार बेपत्ता पर्यटकको शव देखिए पनि उद्धार उद्धार हुन सकेन । खोंच र अप्ठ्यारो भिरमा रहेका कारण उपकरणविना मृतकको शव सङ्कलन गर्न समस्या भएको थियो । बेपत्ता भएकाहरुको खोजीका लागि गूर्जा गाउँबाट १६ जना स्थानीय शनिबार घटनास्थल पुगेर शव भेटाएका थिए । गूर्जा गाउँदेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पाँच घण्टाको दुरीमा पर्छ । शनिबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर गएपनि अवतरण हुन नसकेपछि फर्किएको थियो ।

कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गूर्जा हिमाल आरोहणका लागि पर्यटकको टोली बेसक्याम्पसतर्फ प्रस्थान गरेको थियो । हिमाल आसपासका क्षेत्रमा रहेका वनजङ्गलका रुख समेत हावाहुरीका कारण भाच्चिँएको अवस्थामा भेटिएकाले अत्यधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधारशिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गूर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।


२०७२ सालमा पनि दशैं तिहारको समयमा अचानक आएको हुदहुद नामक आँधीका कारण धौलागिरी आधारशिविर गएका पर्यटकले ज्यान गुमाएका थिए । पर्यटकीय आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार नहुँदा हिमालको आधारशिविरमा जाने पर्यटकहरुलाई वर्षेनी समस्या हुने गरेको छ । आधारशिविरसम्म पुग्ने उपयुक्त पदमार्ग नहुनु, सङ्केतका बोर्डहरु नराखिँदा हिमाल आरोहणमा जाने पर्यटकहरु मृत्युको मुखमा पुग्ने गरेका छन् । गूर्जा हिमालको आधारशिविर र धौलागिरी हिमालको आधारशिविरमा पर्याप्त मात्रामा यार्सागुम्बालगायत महत्पूर्ण जडिबुटीहरु पाइने हुँदा पर्यटकसहित स्थानीय जाने गर्दछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्