दुई वर्षपछि गोदावरी नगरपालिकाको आफ्नै भवन



नेपाल समाचारपत्र, ललितपुर ।
गोदावरी नगरपालिकाको भवन दुई वर्षभित्र बन्ने निश्चित भएको छ । बज्रबाराही नगरपालिकापछि गोदावरी नगरपालिकाको गठन भएको दुई वर्ष बितेसम्म पनि नगरपालिको आफ्नै भवन थिएन ।

आफ्नै भवन नहुँदा छुट्टा छुट्टै घरहरु मासिक महँगो भाडादर तिरेर नगरपालिका सञ्चालन गर्न बाध्य छ । नगरपालिकाको छुट्टा छुट्टै भवनकै कारण सेवाग्राहीले समेत सेवा लिन कठिनाई भईरहेको छ । नगरपालिकाले अहिले आफ्नो मुख्य प्रशासनिक कामकाज चलाउन, शिक्षा र प्राविधिक तर्फको कामकाज चलाउने गरी छुट्टा छुट्टै ठाउँमा भाडामा भवन चलाईरहेको छ ।

‘छुट्टा छुट्टै भवन भाडामा लिँदा एकै स्थानबाट सेवाग्राहीले नगरपालिकाको सहि सेवा पाउन सक्नुभएन,’ नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउनुभयो–‘एकै स्थानबाट मात्रै सेवा दिँदा सेवाग्राहीले पनि सेवा लिएको जस्तो अनुभूति गर्न सक्ने हुनाले हामीले आफ्नै भवन बनाउनु आवश्यक ठानेका हौँ ।’

भवनको आईतबार सिलान्यास भएको छ । भवन निर्माणको लागि ठेकेदार कम्पनी परिचालन भईसकेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । ‘भवन निर्माणको लागि जिम्मा पाएको कम्पनी लागिसकेको छ । भवन अबको दुई वर्षभित्रै निर्माण सम्पन्न हुनेछ ।’

उक्त भवन निर्माणको जिम्मा तुल्सीभक्त÷ड्रागन जेभी निर्माण कम्पनीले पाएको नगरपालिका प्रमुख महर्जनले बताउनुभयो। कुल अनुमानित रकम २७ करोड ४९ लाख ८९ हजार सात सय ३५ रुपियाँ भएपनि कम्पनीसँग २१ करोड ४५ लाख ५६ हजार ६१ रुपियाँमा ठेक्का लागेको हो ।

निर्माण कम्पनीसँग भवन निर्माणको लागि असोज २४ गते ठेकेदारसँग सम्झौता समेत भईसकेको छ । १२ रोपनीमा बन्न लागेको उक्त भवन ७ तले रहने नगरपालिकाले जनायो ।

प्रतिक्रिया दिनुहोस्