मोदीखोला जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन



नेपाल समाचारपत्र, पर्वत
पर्वतको पातीचौरस्थित मोदीखोला जलविद्युत् आयोजना केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
केन्द्रको कुल उत्पादन क्षमता १४ दशमलव ८ मेगावाट रहेकोमा अहिले १४ मेगावाटको आसपासमा बिजुली उत्पादन हुन थालेको हो।
अघिल्ला वर्षमा बढीमा ११ मेगावाट आसपासमा विद्युत् उत्पादन हुने गरेकोमा यो वर्ष ‘पावर हाउस’ मा प्रयोग भएको पुरानो ‘कुलर’ हटाएर नयाँ कुलर फेरेपछि उत्पादन बढेको जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताउनुभयो। ‘हामीले एउटा कुलर फेरेका छौं, त्यसैले नै विद्युत् उत्पादन बढेको हो,’ उहाँले भन्नुभयो–‘यसअघिका वर्षमा ११ मेगावाटको वरिपरि उत्पादन हुने गरेकोमा यो वर्ष १४ मेगावाट पुगेको छ।’

केन्द्रले आगामी वर्ष अर्को कुलर पनि फेर्ने योजना राखेको छ। ३५ लाख रुपियाँमा कुलर फेरिएको प्रमुख शाहले जानकारी दिनुभयो। मोदीखोला जलविद्युत् आयोजनामा बर्खायाममा दुईवटा टर्वाइन चलाएर र हिउँदमा एउटा मात्र टर्वाइनबाट बिजुली उत्पादन हुने गरेको छ। मोदी खोलामा पानीको बहाव कम हुँदा कात्तिकबाट एउटा मात्र टर्वाइन चल्न सक्ने पानीको क्षमता रहने कारण विद्युत् उत्पादन पनि घट्ने गरेको छ। केन्द्र प्रमुख शाहका अनुसार एउटा टर्वाइनबाट ३ मेगावाटभन्दा कम बिजुली उत्पादन हुने अवस्था आएपछि दुवै टर्वाइनको लागि प्रयोग भएको पानीलाई एउटा मात्र टर्वाइनमा खसाल्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्