एनआरएनएको संरचना हेरफेर



नेपाल समाचारपत्र, काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन प्रस्ताव गरिएको छ। संघको काठमाडौंमा जारी विधान सभामा प्रस्तावित विधानलाई अहिलेकै संरचनामा थप व्यवस्थित बनाउँदै लैजाने सहमति बनेको हो।

]
विधान संशोधनपछि संघमा छ जना उपाध्यक्ष रहने छन्। विधान समितिका संयोजक डा। हेमराज शर्मा र सहसंयोजक भवानी प्रसाद ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि सात समूहमा विभाजन गरेर छलफल भएको थियो। उपाध्यक्ष, डेलिगेट्सको छनोट, कर्मचारीको नियुक्ति र कारबाही जस्ता थुप्रै कुरा संशोधनसहित सुझाव संकलन गरिएको छ। यस्तै भिजन २०२० एन्ड बियोन्ड अनुरूप नै संरचना हुने र सो अनुसार युवा तथा दोस्रो पुस्ताका लागि थप एक उपाध्यक्ष गरी ६ जना उपाध्यक्ष रहने विषयमा सहमति भएको छ। विधानसभाले पास गरेको निर्णय सुझावको लागि मात्र पेश गर्न सकिने र विधान परिवर्तन गर्न विशेष साधारणसभा नै गर्नुपर्ने भएकाले विधानबाट विधानसभाको प्रावधान हटाउने भएको छ।

यस्तै वरिष्ठ उपाध्यक्षको पद समेत नरहने निर्णय प्रस्ताव गरिएको छ। उपाध्यक्षको योग्यता नतोकिकनै विजेतामध्येबाटै आईसीसीले नै क्षेत्र विभाजन गर्ने, दुई वर्षे कार्यकाललाई नै कायम राख्ने निर्णय भएको छ। वर्तमान विधानका अधिकांश प्रावधान यथावत गर्नेमा सबैजना सहमत भएको महासचिव डा। बद्री केसीले जाकारी दिनुभएको छ। असोज २८ गतेसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक सीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल भइरहेको छ।

सम्मेलनमा गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान र सीप उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्रिया गरिने छ। सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवी, निजी क्षेत्रको समेत सहभागिता रहने जनाइएको छ। सम्मेलनमा कूल १ सय ६० कार्यपत्रमाथि छलफल हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विज्ञ सम्मेलनको औपचारिक उद्घाटन गर्नु भएको थियो।

सरकारले लिएको समृद्ध नेपाल निर्माणका लक्ष्य पूरा गर्नको लागि सरकार गैरआवसीय नेपाल संघ र निजी क्षेत्रसँग सहकार्य गर्न तयार तयार रहेको प्रधामन्त्री ओलीले बताउनुभयो। सरकारले लिएको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको नेपालको विकासको लागि ज्ञान ,सीप र पुँजीको उपयोग गर्न आह्वान गर्नुभयो। प्रधानमन्त्री ओलीले विज्ञ सम्मेलनले गरेको निष्कर्ष र मार्गनिर्देशनबाट नेपालको विकासका लागि महत्वपूर्ण सुझाव आउने विश्वास व्यक्त गर्नुभयो।

एनआरएनएका अध्यक्ष भवन भट्टले सरकारले लिएको समृद्धिको परिकल्पनालाई साकार गर्नको लागि विज्ञबाट आएको सुझावले सरकारलाई टेवा पुग्ने बताउनुभयो। उहाँले लगानीमात्रै नभई विदेशमा सिकेका ज्ञान, सीपलाई पनि सरकारले सदुपयोग गर्नुपर्ने बेला आएको बताउनुभयो। विज्ञबाट सुझाव र निष्कर्ष श्वेतपत्रका रूपमा सरकारलाई दिने छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले आवश्यक नीति निर्माण परिमार्जन गरेरै भए पनि लगानीमैत्री वातावरण बनाउने बताउनुभयो।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्