कारागारका कैदीबन्दी चर्मरोगबाट ग्रसित



मनोज भट्ट, महेन्द्रनगर

जिल्ला कारागार कञ्चनपुरमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा निकै समस्या भएको छ। कारागारमा बढी कैदीबन्दी हुँदा बस्नका साथै खानेपानी र शौच गर्नमा समेत समस्या भएको कैदीबन्दीले बताएका छन्।
कारगारमा अहिले क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। पुरुष ७५ र महिला २० गरी ९५ जना कैदी राख्ने क्षमता जिल्ला कारागार कञ्चनपुर हो। तर, हाल कारागारमा पुरुष कैदीबन्दी २ सय ७७ र महिला कैदीबन्दी १८ गरी २ सय ९५ जना कैदीबन्दी रहेको कारागारका प्रमुख श्यामराज भट्टले जानकारी दिए। जुन क्षमताभन्दा झन्डै तेब्बर हुन आउँछ।
यत्रो संख्यामा कैदीबन्दी हुँदा सुत्नका लागि ठाउँ नभर ग्यालरी र टिनसेटमा सुत्नुपर्ने अवस्था रहेको कैदीहरूले गुनासो गरेका छन्। ‘निकै कष्ट सहेर बाँच्नुपरेको छ। सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ।’ एक जना बन्दी कमल नेपालीले भने।
कारागारका कोठामा सुत्नका लागि ठाउँ नभएर कहिलेकाहीं त पालोसमेत पर्खने गरेको उनको गुनासो छ। सुत्नका सँगै खानेपानी र शौचालयमा जानका लागि समेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको छ।
कारागारको भवन जीर्ण हुँदा दुर्घटनाको खतरा
विसं २०३२ मा स्थापना भएको कारागारको भवन जीर्ण हुँदा कैदीहरूलाई समस्यामाथि समस्या आइपरेको छ। कारागारको पर्खाल र भवन जीर्ण हुँदै जाँदा दुर्घटना निम्तिन सक्ने खतरासमेत रहेको छ। कारागार भवनको छतका स्ल्याबहरु खस्न थालेका छन्।
भवनमा वर्षौं पहिले लगाइएका इँटासमेत खिइएर झर्न थालेका छन्। महिला कैदीबन्दी बस्दै आएको भवनको भान्सा घरको छानासमेत खस्ने अवस्थामा रहेको कारागारका प्रमुख श्यामराज भट्टले बताए। कारागारका भौतिक संरचनाको सुधार गर्नका लागि पटकपटक केन्द्रीय कारागार विभागमा पत्राचार गर्दासमेत बेवास्ता हुँदै आएको कारागारका प्रमुख भट्ट बताउँछन्। नयाँ कारागार भवन तत्काल निर्माण नगरिए दुर्घटना निम्तिने खतरा रहेको उनको भनाइ छ।
कैदीबन्दीहरुमा चर्मरोगको समस्या
यहाँका कैदीबन्दीहरूमा चर्मरोगको समस्या बढ्दो रूपमा रहेको पाइएको छ। उनीहरुमा दाद, लुतोलगायतका चर्मरोगको समस्या रहेको हो। एकै ठाउँमा धेरै जनाले सुत्नुपर्ने भएकाले एक जनाबाट अर्कोमा रोग सरेको बताइएको छ। हालसम्म ७० जनाभन्दा बढी बन्दीमा चर्मरोगको समस्या देखिएको छ।
रोग बढी देखापरेकाले शिविर सञ्चालन गरी उपचार गरिनुपर्ने कैदी टेकराज जोशीले बताए। उपचारका लागि खटिएका स्वास्थ्यकर्मी ललिता भट्टले कारागारमा उपचारको कुनै साधन नहुँदा चर्मलगायत अन्य रोगको संक्रमण भएका कैदीबन्दीलाई महाकाली अञ्चल अस्पताल लैजानुपर्ने अवस्था रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्