आखिर कहिलेसम्म ठगिने नेपाली युवा ?



नेपाली युवामा वैदेशिक रोजगारीको मोह बर्सेनी बढ्दो छ। सरकारले स्वदेशमै रोजगारीको अवसर सृजना गर्न नसक्दा चाहेर या नचाहेर ठूलो जनशक्ति विदेश पलायन हुनुपर्ने नियति छ। दैनिक औसत १५ सय युवा विदेशमा श्रम गर्न जान बाध्य छन्। वैदेशिक रोजगारीका नाममा दलालको ठगी धन्दा दिनहुँ मौलाइरहेको छ। वैदेशिक रोजगार विभागका अनुसार दलालले वार्षिक डेढ अर्ब रूपियाँभन्दा बढी रकम आकर्षक रोजगारीमा लगाइदिने बहानामा ठगी गर्ने गरेका छन्।

खाडी राष्ट्र, मलेसिया, अमेरिका, जापान र युरोपेली राष्ट्रहरूमा नेपाली युवा ठगिने गरेका छन्। सरकारकै तथ्यांकअनुसार दलालले प्रतिव्यक्ति १ लाखदेखि ४० लाख रूपियाँसम्म ठगी गरेको पाइएको छ। पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीको नाममा ५ अर्ब रूपैयाँ ठगी भएको छ। गत साउन र भदौ महिनामा मात्रै दलालबाट ४ सय ३३ जनाको १९ करोड ४८ लाख १३ हजार १ सय ४१ रूपियाँ ठगी भएको उजुरी विभागमा परेको छ। यसबाट वैदेशिक रोजगारीको नाममा नेपाली कामदार दलालको फन्दामा पर्ने गरेको प्रष्ट हुन्छ।

सरकारले जतिसुकै कडाइ गरेको बताए पनि पीडितहरू दलालको फन्दामा पर्न छाडेका छैनन्। विभागमा परेको उजुरीका आधारमा नगण्य दलालमाथि कारबाही हुने गरे पनि अधिकांशले उन्मुक्ति पाइरहेका छन्। सर्वसाधारणले सजिलो बाटो खोज्ने गरेका कारण पनि दलालको फन्दामा पर्ने गरेका छन्। पछिल्लो समय दलालबाट ठगिनेको संख्या र रकम ≈वात्तै बढ्नुका पछाडि मलेसियामा कामदार जाने प्रक्रिया रोकिनु पनि एउटा कारण हो।

मलेसिया जाने प्रक्रिया रोकिएपछि दलालकहाँ पुगेका कामदार बेस्मारी ठगिन पुगे। खाडी राष्ट्रमा घरेलु कामदारका रूपमा गएका नेपाली महिलाको अवस्था दयनीय बन्न पुगेपछि सरकारले लामो समयदेखि खाडी राष्ट्रमा घरेलु कामदारका रूपमा महिलालाई जान रोक लगाएको थियो। तर, दलालले महिलालाई भारत हुँदै श्रीलंका र थाइल्यान्ड हुँदै चोर बाटोबाट खाडी राष्ट्र पु¥याउने भन्दै मोटो रकम उठाई अलपत्र पार्ने गरेका छन्।

पीडितहरू पहिले आफू सतर्क नहुने र ठगिएपछि मात्रै विभागमा उजुरी दिने गरेका छन्। यसरी अवैधानिकरूपमा दलालमार्फत गन्तव्यमा पुग्न चाहने कामदारका कारण ठगी बढिरहेको छ। दलालले मलेसिया तथा खाडी राष्ट्रका लागि डेढ लाख रूपियाँ र युरोप, अमेरिका र जापानका लागि औसत २० लाखदेखि ४० लाख रूपियाँसम्म ठगी गरेका छन्।

सपनाको मुलुक मानिने युरोप र अमेरिकामा जाने प्रलोभनले नेपाली युवा ठगिँदै आएका छन्। विभागमा दैनिक ८÷१० उजुरी ठगीकै पर्ने गरेबाट पीडितको अवस्था आँकलन गर्न सकिन्छ। पीडितहरू अदालत पुगे पनि अधिकांश मुद्दामा प्रमाण पु¥याउन नसक्दा ठगी गर्नेहरू उम्कने गरेका छन्। दलालको प्रलोभनमा परेर लाखौं रूपियाँ बुझाउने र त्यसको प्रमाण पेस गर्न नसक्दा अदालतमा मुद्दा स्थापित गर्न समस्या हुने गरेको छ।

सयौंको सपनामाथि खेलबाड गर्ने दलालले प्रमाण नपुगेकै आधारमा पुनः ठगी धन्दा चलाउँदै आए पनि सरकारले नियन्त्रण गर्न सकेको छैन। सरकारले केही वर्षयता वैदेशिक रोजगारमा जानेलाई ‘निःशुल्क भिसा, निःशुल्क टिकट’ को व्यवस्था गरे पनि लागू हुन नसक्दा झनै दलालले सर्वसाधारणबाट ठूलो रकम ठगी गर्ने गरेका छन्। आर्थिक वर्ष २०७४÷७५ मा मात्रै २ हजार १ सय २९ वटा ठगीका उजुरी विभागमा परेकामा जम्मा २ सय ३४ मुद्दामात्र अदालतसम्म पुगेका थिए। विगत पाँच वर्षमा व्यक्तिगत र संस्थागत गरी कुल १२ हजार ३ सय ४७ वटा ठगीसम्बन्धी उजुरी विभागमा परेका थिए। ठगीका समस्या बढिरहँदा सरकारले पीडितको उजुरीका आधारमा व्यक्तिगत तथा संस्थागत ठगी गर्ने गिरोहलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नु आवश्यक छ।
– सुलोचना सुवेदी, हाल ः काठमाडौं।

प्रतिक्रिया दिनुहोस्