प्रदेश १ स्तरीय भेट्रान फुटबलको उपाधि बिर्तामोड भेट्रानलाई



सरोज यादव, विराटनगर ।
विराटनगरमा सम्पन्न प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड भेट्रान क्लब झापाले उचालेको छ । नरेन्द्रमणि लिम्बूको निर्णायक गोलको मद्धतबाट बिर्तामोड भेट्रान क्लब झापाले विराटनगरमा सम्पन्न प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको हो ।

सहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा साविक विजेता धरान भेट्रान क्लबलाई १–० गोल अन्तरले निराश बनाउँदै बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो । संघर्षपूर्ण खेलको ५९ औं मिनेटमा नरेन्द्रमणि लिम्बूले गरेको एक मात्र गोल बिर्तामोडलाई जितका लागि पर्याप्त बन्यो । गत वर्ष आयोजित पहिलो भेट्रान फुटबल प्रतियोगितामा फाइनलमै धरानसंग बेहोरेको पराजयको बद्ला लिंदै साविक उपविजेता बिर्तामोडले एक लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त ग¥यो ।

प्रतियोगिताको फाइनलमा दोस्रो पटक बिर्तामोडमाथि जित निकाल्न नसकेर उपविजेतामा खुम्चिएको धरानले ७५ हजार रुपैयाँ नगद पुरस्कारमै चित्त बुझायो । आजको खेलको म्यान अफ दी म्याच धरानका खगेन्द्रबहादुर लिम्बू घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि बिर्तामोडका टंक धिमालले प्राप्त गरे । प्रतियोगिता भरमा चार गोल गरेर काँकडभित्ता भेट्रान क्लबका लाक्पा लामा सर्वाधिक गोलकर्ता बने ।

प्रतियोगिताको म्यान अफ दी सिरिज बिर्तामोडका नरेन्द्रमणि लिम्बू घोषित भए । सीएमजी स्वस्थ्य क्लब विराटनगरको आयोजनामा प्रतियोगिता यही असोज २० गतेबाट संचालन गरिएको थियो । विजयी टिम तथा खेलाडीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आयोजक क्लबका अध्यक्ष किशोर धमला, एन्फा मोरङका अध्यक्ष दीपेन्द्र घिमाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्